धरान: धरानको ४ वटा पसलमा राजश्व छली गरेको सामान बिक्री गरेको भेटिएको भन्दै वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले जरिवाना तिराएको छ ।

धरानको सिटी स्टोर, रस्मी स्टोर, एच के स्टोर र सुमित्रा स्टोरलाई जरिवाना तिराएको हो । जरिवाना स्वरुप ती पसलहरुले कुल ७० हजार तिरेका छन् । कार्यालयका अनुसार सिटी स्टोरले २० हजार, सुमित्रा स्टोरले २० हजार, रस्मी स्टोरले २० हजार र एच के स्टोरले १० हजार जरिवाना तिरेको हो । भन्सार छलेर अवैधरुपमा भारतबाट नेपाल ल्याएको सामान बिक्री भइरहेको भन्ने उजुरीको आधारमा अनुगमन गरिएको र प्रमाण भेटिएपछि कारबाही स्वरुप जरिवना गरिएको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । 

भारतबाट राजश्व छलेर साइकल वा चोर बाटोबाट खाद्यान्नलगायत सामानहरु नेपाल भित्रिने गरेको छ । ती सामानहरु धरानका पसलहरुमा बिक्री भइरहेको भन्ने उजुरी उक्त कार्यालयमा पुगेपछि अनुगमन भएको हो । धरान उपमहानगरका अनुमगन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार साइकलमा चोर बाटोबाट आएका सामानहरुको विल नहुने र त्यस्ता सामान बिक्री गर्न पाइदैन । तर, धरानमा अनुगमन गरिएको ४ वटा पसलमा भने विल नभएको, अवैधरुपमा आएको सामानहरु बिक्री भएको भेटिएकोले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको उनले बताए । 

अनुगमन पहिलो पटक भएकोले जरिवाना गरेर सचेत गराइएको उनको भनाई छ । अर्को पटक अनुगमनमा आउदा त्यसरी नै बिक्री गरेको भेटिए मुद्दा चलाउने चेतावनी पनि वाणिज्य कार्यालयले दिएको सापकोटाले जनाएको छ । उनका अनुसार मंसिर ५ गते पछि खुल्लारुपमा साबुन पनि बिक्री गर्न पाइदैन । अनुगमन टोलीले यसबारेमा पनि पसलहरुमा जानकारी गराइएको उनले बताए ।