धरान: कोभिड १९ संक्रमण्को कारण लकडाउनले गर्दा आम मानिसहरुले रोजगारी गुमाएका छन्, जसले गर्दा उनीहरुको आम्दानी पनि छैन । यस्तो बेला सरकारले जनतालाई राहत दिनुपर्ने हो । तर, संघीय सरकारले पहिलो पटक लकडाउन गर्दा राहत पाए पनि अहिले स्थानीय तहहरु आफैले लकडाउन गर्दा भने राहत वितरण गरेका छैनन् ।

अहिले दोस्रो पटकको लकडाउनमा निम्न आर्थिक अवस्थाका सर्वसाधारणहरु आम्दानी गुमाएर समस्या भइरहेको बेला धरानमा भने तरकारीको भाउ अचाक्ली बढेको छ । यसले सर्वसाधारण उपभोक्ता एवं जनताहरु झन् मारमा परेका छन् । पछिल्लो २ दिन यता धरानमा टमाटरको भाउ अचाक्ली बढेको छ । धरान १३ स्थिक थोक(होलसेल) कृषि बजारमा नै टमाटरको भाउ प्रतिकिलो ११० पुगेको छ । खुद्रा(रिटेल) व्यापारीले खरीद गरेर उपभोक्तालाई बिक्री गर्दा भाउ अझ महंगो हुन्छ । टमाटरको यो थोक मुल्य नै धरानमा अहिलेसम्मको सबैभन्दा महंगो भएको कृषि बजारले जनाएको छ ।

कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार दुई बर्षअघि पनि बाढीपहिरोको बेला टमाटरको मुल्य प्रतिकिलो ८० रुपैया पुगेको थियो । अहिले लकडाउनको बेला प्रतिकिलो ११० रुपैया कृषि बजार सञ्चालन भएयताकै महंगो भएको उनले बताए ।

अनुगमन टोली किसानको घरसम्मै पुग्यो

लकडाउनमा राहत पाउनुपर्ने उपभोक्ताहरुले टमाटर अत्यधिक महंगोमा किन्नु परेपछि धरान उपमहानगरपालिकाका अनुगमन समितिले प्रहरी, प्रशासनसहित आज(शनिबार) बिहान कृषि बजारमा आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले टमाटरको भाउ आकासिनुको कारणबारे यथार्थ बुझ्न वडा नं १३ को अध्यक्ष नेत्र काफ्लेको नेतृत्वमा एक टोली स्थलगतरुपमा पठाउने निर्णय गर्यो ।

krisi-meeting

धरानकी उपमेयर एवं अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेपछि वडाअध्यक्षको नेतृत्वमा एक टोली धनकुटाको विभिन्न स्थानमा स्थलगत अनुगमनको लागि गएको थियो । टोलीमा अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, कृषि बजारका व्यवस्थापक भट्टराई, कृषि बजारका पुर्वअध्यक्ष काजी गिरीलगायत थिए ।

यो टोलीले धनकुटाको गुठीटार, तमोर मुलघाट, रुद्रबारी, पात्लेखोला र हिलेसम्म पुगेर त्यहाँका किसान, स्थानीय व्यापारीले पाउने भाउबारे बुझेको छ । यो टोलीले आफ्नो स्थलगत अध्ययन प्रतिवेदन आइतबार बुझाउने अनुगमन अधिकृत सापकोटाले बताए । ‘टमाटरको भाउ असाध्यै महंगो भएपछि उपमहानगरपालिकाले नै चासो दिएर यथार्थ बुझ्न टोली पठाएको हो,’उनले भने,‘हामीले स्थलगतरुपमा उत्पादन गर्ने किसान, स्थानीय व्यापारीहरुले के कति मुल्य पाउदा रहेछन् भनेर बुझेका छौं, प्रतिवेदन बुझाउछौं ।’