धरान: धरानमा स्मार्ट बसपार्क बनाउन टेण्डर आह्वान गरिएको छ । 

धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा निर्माण गर्ने भनिएको स्मार्ट बसपार्क बनाउन उपमहानगरपालिकाले टेण्डर आह्वान गरेको हो । उपप्रमुख मञ्जु भण्डारी सुवेदीका अनुसार आयोजनामा विवादसमेत समाधान भएको र टेण्डर आह्वान पनि भएकोले अब धरानमा स्मार्ट बसपार्क बन्ने सुनिश्चित भएको बताइन् । उनले भनिन्,‘हामी निवार्चित भएपछि स्वर्गीय मेयर तारा सुब्बाले मलाई विवाद समाधानको जिम्मा मलाई दिनु भएको थियो । यो बीचमा असन्तुष्ट जग्गाधनी, सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर विवाद सुल्झाउने काम भयो । बजेट पनि सुनिश्चित भएको छ, र टेण्डर पनि आह्वान भइसकेकोले बसपार्क अब पक्का बन्छ ।’

buspark-tendar

यसअघि नै कार्यवाहक प्रमुख भएको बेला भण्डारीले शिलान्यास गरेकी थिइन् । त्यसबेला डिपिआर तयार नभै हतारमा शिलान्यास गरेको भन्दै उनको आलोचनासमेत भएको थियो । प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट उपमहानगरले डिपिआर तयार गर्न लगाएको थियो । कन्सल्टेन्टले करिब ६५ करोड लागतको डिपिआर तयार गरेको थियो । बजेट अत्यधिक धेरै भएपछि उपमहानगरले उक्त डिपिआर संशोधन गरेर ३० करोड ६० लाखमा झारेको थियो ।

योजना तथा इञ्जिनियरीङ महशाखा प्रमुख सुरज श्रेष्ठले आयोजनामा बसपार्कको लागि मात्र ३० कट्ठा जमिन छ । त्यसबाहेक सेल्स प्लटमा थप ५ कट्ठा हाराहारी खाली जग्गा पनि रहेको उनले बताए । स्मार्ट बसपार्क बनाउन संघीय सरकारको ससर्त अनुदानको साढे १२ करोड र उपमहानगरले पनि साढे १२ करोड ३ बर्षमा लगानी गर्ने उनले बताए । टेण्डरको प्रक्रिया २ महिना लाग्ने र आर्थिक बर्षको अन्तिमतिर निर्माण कार्य शुरु हुने उनको भनाई छ । साथै, केही दिनभित्रै आयोजनाको ड्रेन र एजिङको पनि टेण्डर आह्वान हुनेछ भने पक्की सडक निर्माणको लागि संघीय सरकारसँग पहल भइरहेको श्रेष्ठले बताए ।dharan-smart-buspark2