विराटनगर: भारततर्फ तस्करी गर्नको लागि डिजेल लोड गरेको अवस्थामा प्रहरीले विराटनगरबाट २ जनालाई ट्यांकरसहित पक्राउ गरेको छ । 

प्रहरीले डिजेल लोड गरिरहेको को १ ख ५९१२ नम्बरको ट्रयांकरसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको अररिया मिरगञ्जका २६ बर्षीय मेहमद सजाद र २१ बर्षीय इमरोज आलम रहेका छन् । शुक्रबार दिउँसो २० हजार लिटर पेट्रोल लिन आएको उक्त ट्यांकरलाई बेलुका डिलरहरुमा पठाइएको आयल निगमले जनाएको छ ।

शनिबार बिहान आयल निगम प्रवेश गरेपछि ट्यांकर लक गर्ने क्रममा डिजेल भेटिएको थियो । प्रहरीका अनुसार ट्याङ्करको २ नम्बर च्याम्बरमा २ हजार ६६० लिटर डिजेल भेटिएको थियो । निगमले तस्करी हुन नदिन भारतको बरौनीबाट लोड भएको र विराटनगरबाट इन्धन लिन बरौनी जाने ट्याङ्करमा लक लगाउने गरेको छ ।  दुवै जनालाई प्रहरीले आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जनाएको छ । उक्त ट्यांकरको धनी व्यवसायी चरणप्रित सिंहको भएको र शुक्रबार राति सिंहको ट्याङ्करले बुढीगंगा, निुमवास्थित महेश अग्रवालले सञ्चालन गरेको नितेश आयलबाट डिजेल लोड बताइएको छ ।