धरान: विभिन्न माग राखेर धरान १५ बगरकोटस्थित लाउञ्ज एण्ड बारहरुमा सांगीतिक प्रस्तुतीलाई रोक लगाएका धरानका ब्याण्ड र बगरकोटका व्यवसायीहरुबीच वार्ता भएको छ । 

वार्ता सकरात्मक भएपनि सहमति भने जुट्न सकेन । सहमति नजुटेपछि धरानका ब्याण्डहरुले बगरकोटका लाउञ्ज एण्ड बारहरुमा लाइभ पमर्फ नगर्ने निर्णयलाई निरन्तरता दिएका छन् । वार्तामा दुवै पक्षको माग र प्रस्तावबारे छलफल भएको थियो । बगरकोट व्यवसायी मञ्चले २ हजारदेखि ४ हजारसम्म मात्र पारिश्रमिक दिन सकिने प्रस्ताव गरेको थियो । व्यवसायीहरुको उक्त प्रस्तावबारे वार्ता पछि पनि धरान ब्याण्ड एशोसिएशनको अलग्गै बैठक बसेको थियो । उक्त बैठकले व्यवसायीहरुको प्रस्तावमा सहमत नहुने र आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको ब्याण्ड एशोसिएशनका एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार ब्याण्ड एशोसिएशनले पुरानो ब्याण्डलाई दिनको ४ हजार दिनुपर्ने र बढी भिडभाड हुने शुक्रबार, शनिबार ५ हजार पारिश्रमिक दिनुपर्ने माग गरे । तर, व्यवसायीहरुले ४ हजारभन्दा बढी दिन नसक्ने अडान राखेपछि सहमत नभएको उनको भनाई छ । 

यता, बगरकोट व्यवसायी मञ्चका अध्यक्ष जिवन लिम्बुले वार्ता भएको र सहमति नजिक पुगेको प्रतिक्रिया दिए । ‘ब्याण्ड सदस्यसँग छलफल भयो । दुवै पक्षको प्रस्ताव पेश गरेर छलफल भयो,’उनले भने,‘उहाँहरु क्याटोगराइज गर्न मन्नुभएन । केही रकम बढाई दिने, ब्याण्ड मेन्टेन गर्ने भनेर छलफल भएको छ । लिखित सहमति गर्ने सोचमा छौं, र सहमति नजिक पुगेका छौं ।’ धरान ब्याण्ड एशोसिएशनले पुराना ब्याण्डलाई दैनिक प्रस्तुती गर्दा ६ हजार दिनुपर्ने, नयाँ ब्याण्डहरुलाई दैनिक ३५ सय दिनुपर्ने, एकल संगीतकर्मीलाई दैनिक १५ सय र संगीतकर्मीद्धयलाई २ हजार दिनुपर्नेलगायत विभिन्न ८ बुँदे माग अघिसारेको छ ।