धरान: खुवालुङ–पछिल्लो समय राष्ट्रिय र अन्तराष्ट्रियरुपमा चर्चाको केन्द्रमा छ । खास गरि विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जल यातायातको विकासको सन्दर्भमा सप्तकोशीमा अवरोध पन्छाउने धारणा राखेपछि खुवालुङबारे सबैको ध्यान केन्द्रीत भयो । प्रधानमन्त्री ओलीले खुवालुङकै बारे बोलेको भन्दै संरक्षणको अभियान चल्यो ।
प्रदेश र केन्द्र सरकारले खुवालुङ हटाउन लागेको भन्दै विरोध र आलोचना भयो । किरात समुदाय र सँस्कृतिकर्मीहरुले पनि विरोध जनाए । जल यातायातलाई सहज बनाउन सरकारले खुवालुङ हटाउन वा फुटाउन लागेकै हो त ? यसबारे सबैको प्रश्न र चासो थियो । मंगलबार मुख्यमन्त्री शेरधन राईले खुवालुङ पुगेर यही प्रश्नको उत्तर दिए ।
मुख्यमन्त्री राईले जल यातायातको विकासको सम्भाव्यताको अध्ययन गर्ने क्रममा खुवालुङ पत्ता लागेको उल्लेख गर्दै संघ वा प्रदेशमा कुनै पनि औपचारिक छलफल र निर्णय नभएको प्रष्ट पारे । तर, सामाजिक सञ्जालहरुमा प्रदेश र संघीय सरकारले तोड्न लागेको भनेर भ्रमपुर्ण प्रचार भएको बताए । प्रारम्भिक अध्ययन भएको र खुवालुङको कुरा आएकोले विज्ञसहित आफु अध्ययन गर्न आएको पनि बताए । उनले खुवालुङ संरक्षण गर्ने र धार्मिक, साँस्कृतिक पर्यटनको केन्द्रकोरुपमा विकास गर्न ध्यान दिने पनि बताए ।
जल यातायातको बिषयमा सर्वेक्षण गरिरहेका विज्ञ विपुलराज पाण्डेले ठुलो ढुंगा देखेपछि के गर्न सकिन्छ भनेर राय मात्र मागिएको बताए । उनले फुटाउन पर्छ भन्ने प्रस्ताव नगरेको र बीचबाट जान नसके दाँया वा बाँयाबाट च्यानल बनाएर जहाजलाई लैजान सकिने बताए । खुवालुङलाई दुवैतिर ५ मिटर जहाज जान नपाउने गरि मार्किङ गरिदिने पनि बताए ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले किराती पुर्खाहरुको प्रतिमा बनिनुपर्ने बताए । किरातीहरुको साँस्कृतिकस्थलहरु, मुन्धुममा भाकिने आस्थाको केन्द्रहरु बनिनुपर्ने बताए । यसले धार्मिक, साँस्कृतिक पर्यटनको विकास हुने भन्दै खुवालुङ जोगाएर जल यातायातको पनि विकास गर्न आग्रह गरे ।
त्रिवेणीमा सप्तकोशी नदी बीचमा छ, खुवालुङ । खुवालुङ किरात समुदायको आस्थाको केन्द्र हो । किराती नक्छोङ, धामी, माङ्पाहरुले आफ्नो धार्मिक कार्य गर्दा यही खुवालुङमा आएर शक्ति आर्जन गर्ने गरेका छन् । त्यसैले यो ढुंगा किरातीहरुको मुन्धुममी शक्ति केन्द्र हो । किराती मिथक अनुसार किराती सभ्यताको विकास खुवालुङबाट भएको मानिन्छ । किराती आदिम पुर्खाहरु जेठा मुकुबुङ(भोटे), माइला हर्कबुङ(किरात) र कन्छा रिब्लबुङ(थारु) उकालो जादै गर्दा खुवलुङमा आएर छुट्टिएको किरातीहरु विश्वास गर्छन् ।
खुवालुङमा आउदा ढोका बन्द भएको देखेर जेठाले जुरेलीको भोग दिएपछि ढोका खुलेको र पार गरेको मानिन्छ । माइला भाई हर्कबुङ पार गर्न नसक्दा जेठाले रगतको भोग दिनु र मात्र ढोका खुल्छ भनेपछि आफ्नै चेलीको औला काटेर रगत चढाएपछि ढोका खुलेको विश्वास किरातीहरु गर्छन् । तर, चेलीको औलाबाट रगत नरोकिएपछि रगत केराको पातमा खसेको र बाख्राले उक्त पात खादा चेली तत्काल मृत्यु भएको थियो । त्यसैले किरातहरुले आफ्नो कुलपित्रमा बाख्रा नचलाउने र मासु पनि खान नहुने विश्वास रहेको छ । कान्छा भाई पार गर्न नसक्दा तराईतिरै रहे । जेठा हिमाली भेगसम्म पुगेर बसोबास गरे । माइला भाई सुनकोशी किनार आसपासमै बसेर सुनुुवार भएको विश्वास किरातीहरु गर्छन् ।