धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा ४ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । 

दुई गठबन्धनको उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने अपेक्षा गरिए पनि बाघी उम्मेदवारकोरुपमा २ जनाले उम्मेदवारी फिर्ता नलिएपछि अन्ततः ४ जनाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ । चैत २५ गते हुने चुनावमा प्रेस चौतारी, प्रेस मञ्च नेपाललगायतको गठबन्धनबाट सन्तोष काफ्लेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने प्रेस युनियन, प्रेस सेन्टरलगायतको गठबन्धनबाट जनकऋर्षि राईले उम्मेदवारी दिएका छन् । तर, प्रेस युनियनबाट नै अध्यक्ष पदमा सचिन पोख्रेल र सुविद गुँरागाईले पनि उम्मेदवारी दिएका छन् । 

आज (सोमबार) दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता तथा दाबी विरोधको समय तोकिएको थियो । युनियनबाट अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका पोख्रेल र गुँरागाईलाई साँझ ६ बजेसम्म समय थप गर्दै उम्मेदवारी फिर्ता गराउने प्रयास गरेपनि संगठन सफल हुन नसकेपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको छ । यसैगरि, उपाध्यक्षमा युनियन र सेन्टरको तर्फबाट गणेश निरौला र प्रेस चौतारीको गठबन्धनबाट सुमन पुरीबीच प्रतिस्पर्धा हुने भएको छ । 

महिलो उपाध्यक्ष पदमा पनि ४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा सुमित्रा राई (सञ्जु), रञ्जना पौडेल, मनिता चाम्लिङ र उषाकिरण भट्टराईको उम्मेदवारी परेको छ । सुमित्राको उम्मेदवारी प्रेस चौतारीको गठबन्धनबाट भएको हो भने उषाकिरणको उम्मेदवारी प्रेस युनियनको गठबन्धनबाट हो । प्रेस युनियनबाट नै रञ्जनाले बागी उम्मेदवारी दिएकी छिन् भने मनिताको स्वतन्त्र उम्मेदवारी परेको हो । 

यस्तै, सचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ । प्रेस चौतारी गठबन्धनबाट दिनेश गजमेरको उम्मेदवारी छ भने प्रेस युनियन गठबन्धनबाट ध्रुव ढकालको उम्मेदवारी छ । प्रेस सेन्टरबाट भरतराज शर्मा (गोपाल कामत)ले बागी उम्मेदवारी दिएका छन् । सहसचिवमा प्रेस चौतारी गठबन्धनबाट विकल रेग्मीको उम्मेदवारी छ भने प्रेस युनियन गठबन्धनबाट तीर्थ कार्कीको रहेको छ । सहसचिवमा प्रदिपकुमार चौधरी र भोला श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्षमा अतिजकुमार झा, कृष्ण प्रसाद वहाव भट्टराई र निसान प्रकृति थारुबीच प्रतिस्पर्धा हुने भएको छ । 

४ जना निर्विरोध निवार्चित

पत्रकार महासंघ सुनसरीको कार्यसमिति सदस्यमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्य पदमा देविका चाम्लिङ निर्विरोध निर्वाचित भएकी छिन् भने दलित सदस्य पदमा सुविन विश्वकर्मा पनि निर्विरोध भएका छन् । यस्तै, जनजाति सदस्यमा पनि पारस राई र समावेशी, मुस्लिम, अल्पसंख्यक र अपांग कोटाको सदस्यमा महमद मिकाईल पनि निर्विरोध चुनिएका छन् । 

परिषद सदस्यमा पनि निर्विरोध 

केन्द्रीय परिषदको महिला सदस्यमा पनि गंगा पौडेल(वराल) निर्विरोध निर्वािचत भएकी छिन् । यस्तै, प्रदेश परिषदको महिला सदस्यमा कानुन कार्की पनि निर्विरोध चुनिएकी छिन् । 

यस्तै, प्रदेश परिषदको समावेशी सदस्यमा पनि अनवर हुसेन अंसारी, आशिष यादव, कुलदिप चौधरी, विकास चाम्लिङ,  विशाल राई, धिरेन्द्रकुमार चौधरी र सोहन श्रेष्ठ पनि निर्विरोध चुनिएका छन् ।