धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा पनि संक्रमण तीब्रदरमा फैलिरहेको छ भने धमाधम संक्रमितहरुको मृत्यु पनि भइरहेको छ । सरकारले संक्रमण रोक्न थुप्रै प्रतिबन्धात्मक निर्णयहरु गरिसकेको छ । 

यो बेला सबै व्यक्ति, क्षेत्र सचेत हुनुपर्ने अवस्था छ । सानो भुल वा लापरवाहीले समुदायमा संक्रमण फैलिएर भयावह हुनसक्ने जोखिम छ । हिजो बिहिबार भने धरानमा सरोकारवाला निकायहरुको लापरवाही भएको पाइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बुधबार राती मृत्यु भएका ४५ बर्षीय संक्रमितको शवलाई अस्पतालले परिवारकै जिम्मा लगाएको थियो । त्यसपछि, उक्त परिवारले जनस्वास्थ्यको मापदण्ड पुरा गरे, नगरेको कसैले पनि नियमन गरेको पाइएन । 

बुधबार राती मृत्यु भएको संक्रमितको शव अस्पतालले हिजो बिहिबार बिहान परिवारको जिम्मा लगायो । परिवारले शवलाई चतरास्थित कोशी किनारमा लगेर अन्त्येष्टी गरेको थियो । शव अन्येष्टीमा प्रोटोकल उल्लंघन गरि ५० भन्दा बढी मलामी सहभागी भएको पाइएको छ । वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले मृतकको परिवारलाई प्रतिष्ठानको डाक्टरले नै फोन गरेर शव लैजान सक्नु हुन्छ भनेर जिम्मा लगाएको बताए । आफुले पछि बुझ्दा ५० जना भन्दा बढी मलामी गएको जानकारी पनि अध्यक्ष लामाले दिए । ‘मलाई त जानकारी नै थिएन, पछि बुझ्दा ५०, ६० जना मलामी गएछन्,’अध्यक्ष लामाले भने,‘जान पाउने हो कि होइन, मलामी कसरी गए, कसरी अन्त्येष्टी गरे भनेर कसले अनुगमन गर्यो ?’ 

अध्यक्ष लामाले अस्पताल र प्रहरीले जनस्वास्थ्यमा खेलवाड हुने गरि शव जिम्मा लगाएको भन्दै आक्रोश पनि पोखे । साथै, मलामी गएकाहरुलाई पहिचान गरेर क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्न स्वास्थ्य महशाखा प्रमुखलाई आग्रह गरेको पनि उनले बताए । ‘मलामी गएकाहरु सबैलाई क्वारेन्टिनमा राख्नुस् भनेको छुँ, शवलाई वीपीबाट डाक्टरले नै लैजान सक्नुहुन्छ भनेर पठाएको रहेछ,’उनले भने । 

उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहतासहितको टोली बिहिबार मृतकको परिवारलाई भेट्न घर पुगेका थिए । ‘मलामी ५०, ५५ जना जति गयौं, तर मोटरसाइकलमा दुरी कायम गरेको भने,’मेहताले भने,‘कोशी नदी छेउमा खाल्डो खनेर, शव नछोई डोरी प्रयोग गरेर गाड्यौ भने ।’ मास्क, सेनिटाइजर लगाए पनि पिपिई भने नभएको पाइएको मेहताले बताए । मलामी गएकाहरु सबैलाई कम्तीमा ३ दिन घरमा नै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले बताए । ‘२५ जना मात्र मलामी जाने भन्ने थाहै थिएन भने । सबैलाई क्वारेन्टाइनमा बसाएर सोमबार स्वाब लिन्छौं,’मेहताले भने । 

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.प्रमोद वरालले नयाँ प्रोटोकल आएको भनेर प्रहरीबाट नै खबर आएपछि परिवारलाई शव जिम्मा लगाएको बताए । यद्यपी, प्रोटोकल पालना गराउन सबै सचेत हुनुपर्ने उनले प्रतिक्रिया दिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्वास्थ्य प्रोटोकल सबै पुरा गर्न चाहदा मात्र शव जिम्मा दिइने बताए । प्रोटोकल पुरा गर्न नसक्दा नेपाली सेनाले नै अन्त्येष्टी गर्ने प्रजिअ ढकालले बताए । ‘परिवारले प्रोटोकल पुरा गर्छ भने मात्र शव जिम्मा दिने हो, नत्र सेनालाई नै दिन्छौं,’प्रजिअ ढकालले भने,‘प्रोटोकल पुरा भए नभएको पालिकाका स्वास्थ्य संयोजक, प्रहरीले हेर्नुपर्छ ।’ शव अन्येष्टी गर्न पिपिई लगाउनुपर्ने, शव खोलेर हेर्न नपाउने, २५ जना भन्दा बढी मलामी जान नहुनेलगायत सबै पालना गर्नुपर्ने उनले बताए ।