धरान: भुमिहिन दलित, भुमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन गरि पूर्जा वितरण गर्ने उद्देश्यले धरानमा फारम विरतण शुरु भएको छ ।

भुमी आयोगले उपलब्ध गराएको फारमलाई धरान उपमहानगरपालिकाले आज (आइतबार)देखि धरानका वडाहरुमा वितरण गरेको हो । आयोगले धरानको लागि हाल १४ हजार ५ सय फारम उपलब्ध गराएको थियो । आज बिहान वडा नं १५ को कार्यालयलाई फारम विरतण गर्दै शुरुवात गरिएको थियो । लगत संकलन ईकाईका संयोजक वेदप्रसाद सापकोटाका अनुसार वडा नं १५ मा ११०७, वडा १३ मा ५६५, वडा १६ मा ४६३, वडा ११ मा १४५६, वडा १७ मा १२११, वडा ५ मा १५९०, वडा ८ मा ३६५ र वडा ४ मा १५० वटा फारम विरतण भइसकेको छ । 

यसबाहेक सुकुम्बासी तथा अव्यवस्थित बसोबास नभएको भन्ने रिपोर्ट आएको ३ वटा वडामा पनि २५ वटाको दरले फारम विरतण भइसकेको सापकोटाले जानकारी दिए । ती वडाहरुमा ऐलनी जग्गामा नबसे पनि डेरामा बसेकाहरु भुमिहिन हुनसक्ने भएकोले फारम वडा कार्यालयलाई बुझाइएको सापेकाटाको भनाई छ । अन्य वडाहरुमा पनि फारम वितरण गरिने उनले बताए । 

फारम पाए पनि वडा नं १५ र १३ ले मात्र फारम भर्न शुरुवात गरेको उपमहानगरले जनाएको छ । अन्य वडाहरुले आवश्यक तयारी गरेर सम्भवत: भोली सोमबारदेखि फारम भर्न थाल्ने बताइएको छ । भूमि सम्बन्धी समस्या समाधान गर्न मेयर तिलक राईको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । उक्त समितिले कही कतै समस्या आएमा समाधान गर्न सहजीकरण गर्नेछ । यस्तै, वडास्तरमा पनि सहजीकरण समिति गठन गरिएको छ । 

सहजीकरण समितिका संयोजक एवं मेयर तिलक राईले रातो फारम देशभरि आफ्नो परिवारको नाममा एक टुक्रा पनि जग्गा नहुनेले भर्ने जानकारी दिए । यस्तै, सेतो फारम आफ्नो नाम वा परिवारको नाममा कही जग्गा भएपनि ऐलनी जग्गामा बसिरहेको वा घेराबार गरेर बसिरहेकाहरुले भर्ने फारम भएको उनले जानकारी दिए । ‘रातो फारम भर्नेले एक पटक निःशुल्क जग्गा पाउनुहुन्छ, सेतो फारम भर्नेले सरकारले तोकेको न्युनतम शुल्कमा राजश्व तिरेर लिनुपर्ने हुन्छ । कति जग्गा पाउने भन्ने यसको विधि छ,’उनले भने ।

मेयर राईले वास्तविक सुकुम्बासी, वास्तविक भुमिहिन र वास्तविक अव्यवस्थितले मात्र भर्न आग्रह गरेका छन् । फारममा वडाअध्यक्ष र सम्बन्धित टोलका वडा सदस्यले, वडा सचिवले हस्ताक्षर गर्नुपर्ने भएकोले आफ्नो टोल र वडामा फारम भर्नेहरुलाई राम्रोसँग हेर्न मेयर राईले आग्रह गरे । ‘वडा सदस्यले, अध्यक्षले, सचिवले हस्ताक्षर गर्नुपर्छ । आफ्नो टोलको राम्रोसँग मान्छे हेनुपर्छ, जवाफदेही हुनुपर्छ,’मेयर राईले भने,‘भोली सर्जमिन मुचुल्का हुन्छ । नहुने मान्छे सिफारिश भयो भने कारबाही हुन्छ ।’ कर्मचारीहरुले पनि दिनभरिमा भरेको फारम घर लैजान नपाउने र साँझ बुझाउनुपर्ने बताए ।