धरान: परीक्षा फारम शुल्क वृद्धिको विरोधमा महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा लागेको ताला खुलेको छ । 

क्याम्पस प्रशासनले वृद्धि गरेको शुल्क समायोजन गर्दै साविककै कायम गरेपछि अनेरास्ववियुले तीन दिन पछि आज(आइतबार) तालाबन्दी खोलेको हो । क्याम्पस प्रशासनले स्नातक तह, प्रथम बर्ष अन्तर्गत बिए, बिएड र बिबिएसको परीक्षा फारममा ३ सय शुल्क बृद्धि गर्दै ४ हजार ५ सय लिन थालेपछि अनेरास्ववियुले विरोध जनाएको थियो । ज्ञापन पत्रसमेत बुझाए पनि वेवस्ता गरेपछि ३ दिनअघि क्याम्पस प्रशासनमा तालाबन्दी गरेको थियो । 

विद्यार्थीहरुसँग क्याम्पसले बढी लिएको शुल्कबारे बैठक बसेर माग पुरा गर्ने सहमति गरेपछि ताला खोलिएको क्याम्पस कमिटीका अध्यक्ष शेखर रेग्मीले जानकारी दिए । उनका अनुसार परीक्षा फारम शुल्क ४ हजार ५ सय बुझाईसकेका विद्यार्थीहरुलाई दोस्रो बर्षमा शुल्क घटाएर समायोजन गरिने भएको छ भने फारम भर्न बाँकी विद्यार्थीहरुको हकमा भने फारम भर्दा ४ हजार २ सय मात्र लिइने क्याम्पस प्रशासनले जनाएको छ ।