धरान: कोरोना महामारीको दोस्रो लहर तीब्र गतिमा बढ्दै गएपछि आजदेखि सुनसरीमा पनि निषेधाज्ञा लागु भएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख २४ गते मध्यराती १२ बजेसम्मको लागि जिल्लाभर निषेधज्ञा लागु गरेको हो । निषेधाज्ञा अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही हुने पनि जिल्ला प्रशासनले जनाएको छ । आजदेखि अत्यावश्यक काम नपरि घरबाहिर निस्कन पाइनेछैन । यस्तै, एकै स्थानमा जम्मा भएर भेला, जुलुस, सम्मेलन, छलफल, गोष्ठी पनि गर्न पाइन छैन ।

आजदेखि सार्वजनिक तथा निजी सवारीसाधनहरु जिल्ला भर जोर गते जोर नम्बरको र विजोर गते विजोर नम्बरको मात्र सवारीसाधनहरु सञ्चालन गर्न पाइनेछ । एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दुध, मासुलगायतको ढुवानी तथा यातायातको साधनहरु भने सञ्चालन गर्न पाइनेछ ।

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसल चौबिसै घण्टा खुल्न छुट छ भने अन्य पसल तथा व्यवसाय बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म मात्र खोल्न पाइनेछ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । खाद्य सामग्री, ग्रोसरी, औषधी पसलहरु पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्नुपर्नेछ । होटल तथा रेष्टुरेष्टहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उक्त समयभन्दा अघि पछि टेक अवे सेवा दिन सकिने पनि प्रशासनले जनाएको छ । 

विवाह तथा ब्रतबन्ध आयोजनाको लागि २५ जना भन्दा बढी नहुने गरि सहभागी हुन पाउनेछ । पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने हुन्छ । विवाह वा ब्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भएर अन्य जिल्ला जानु वा फर्कनु पर्ने भए २ वटा सवारी साधनमा बढीमा ७ जनासम्मको लागि स्थानीय तहको सिफारिशसहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । 

nisedyahgyanisedhgya1