धरान:स्वास्थ्य संस्था तथा चिकित्सकहरुको सिफारिश विना कसैलाई पनि अक्सिजन उपलब्ध गराउन सुनसरी जिल्लामा रहेका अक्सिजन उद्योगहरुलाई रोक लगाइएको छ ।
सुनसरीस्थित जिल्ला कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) को बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । व्यक्तिहरुले अनावश्यकरुपमा घरमा लगेर अक्सिजन सिलिण्डर राख्ने र आवश्यक परेको बेला विरामी तथा कोरोना संक्रमितहरुले अक्सिजन सिलिण्डर नपाउने अवस्था आउन नदिन यस्तो निर्णय गरिएको हो । डिसिसिएमसि अध्यक्ष तथा प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले यो निर्णयको जानकारी उद्योगहरुलाई गराउने र यसको अनुगमनको लागि स्थानीय प्रहरीलाई निर्देशन दिने पनि निर्णय भएको छ ।
प्रदेश नं १ मा कुल ५ वटा अक्सिजन उद्योगहरु छन् । ती मध्ये सुनसरीमा मात्रै ३ वटा रहेको छ । उद्योगहरुका अनुसार अक्सिजन उत्पादन पर्याप्त हुने भएपनि सिलिण्डर मुख्य समस्या हो । मानिसहरुले घरमा लगेर सिलिण्डर राखिदिने गरेकोले आवश्यक परेका विरामीलाई अक्सिजन अभावले ज्यान गुमाउनुपर्ने परिस्थिति छ ।
सोही बैठकले सुनसरी सदरमुकाम इनरुवास्थित इनरुवा अस्पताललाई सय बेड क्षमताको कोडिभ अस्पताल बनाउने प्रस्तावना स्वीकृत गरेको छ । इनरुवा अस्पतालले तयार गरेको प्रस्तावनामा तत्काल २० बेड क्षमताको कोभिड अस्पताल सञ्चालन गर्ने र सय बेड क्षमतासम्मको अस्पतालकोरुपमा प्रयोग र विकास गर्न आवश्यक आधारभुत जनशक्ति, भौतिक पुर्वाधारलगायत स्वास्थ्य सामग्रीको व्यवस्थापनलगायत समावेश छन् । बैठकले स्वीकृत गरेको प्रस्तावनालाई आवश्यक समन्वय गरि सञ्चालनको लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयलमा अनुरोध गरि पठाउने निर्णय भएको छ ।
यसैगरि, बैठकले तत्काल स्ष्नयिय तहहरुमा आइसोलेसन सेन्टर स्थापना एवं सञ्चालन गर्न जिल्लाका १२ तहहरुलाई १० लाखको दरले बजेट उपलब्ध गराइदिन पनि उक्त मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कोरोनाले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको लागि एउटा शववाहन र नेपाली सेनाको टोलीलाई सो स्थानमा जान आउन आवश्यक पर्ने सवारीसाधन तत्काल खरिद हुन सक्ने अवस्था नरहे भाडा लिनेमा लिने निर्णय गरेको छ । यसको लागि एउटा सवारीसाधनको मासिक भाडा दर १ लाख ६० हजारका दरले इन्धनसहित सवारीसाधनको तीन महिनाको भाडा बापतको बजेट उपलब्ध गराउन सामाजिकविकास मन्त्रालयले अनुरोध गर्ने निर्णय गरेको छ ।