धरान: प्रदेश १ सरकारले विभिन्न चार अस्पतालहरुमा थप ५ सयको दरले २ हजार बेडको डेडिकेटेड कोभिड अस्पताल सञ्चालन गर्न सिसिएमसिलाई प्रस्ताव पठाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा सरकारका मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुहरु, निजी तथा सरकारी अस्पतालका सञ्चालकहरुसहितको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ को नयाँ भेरियन्ट तीब्रदरमा फैलिइरहेकोले रोकथाम नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन प्रदेश स्तरीय कोरोना भाइरस सङ्कट व्यवस्थापन समिति (पिसिसिएमसी)ले यस्तो निर्णय गरेको जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, नोवल मेडिकल कलेज शिक्षण अस्पताल र झापाको विर्तामोडस्थित वी.एण्ड सी. अस्पताललाई कम्तिमा ५०० र५०० वेड क्षमताको डेडिकेटेड कोभिड अस्पताल बनाउन प्रस्ताव गरेर पठाउने निर्णय भएको छ ।
यस्तै न्यूरो, कार्डियो तथा मल्टि स्पेसियालिटी अस्पताललाई पनि १०० वेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल संचालनको लागि आवश्यक सहयोग, समन्वय र अनुमति दिन पनि प्रस्ताव पठाउने निर्णय भएको छ । सोही बैठकले निजी अस्पतालहरुलाई कोभिड उपचारमा दिदै आएको अनुदान रकमबारे अझ स्पष्ट बनाएर थप अनुदान रकम उपलव्ध गराएर गुणस्तरिय सेवा प्रवाह गर्ने वातावरण बनाउन पनि संघीय सरकारलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।
बैठकले ‘वर्तमान जटिल परिस्थितिमा जनजीवनलाई न्यूनतम मात्र असर पर्ने गरी सीमानाका र आन्तरिक आवगमन एवं व्यापार व्यवसायलाई नियन्त्रित रुपमा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण होल्डिङ सेन्टर, आइसोलेसन सेन्टरलगायतका कार्यहरुमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाल सरकारको नीति एवं निर्देशनसँग सामञ्जस्यता कायम हुने गरी स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा तत्काल गर्नुपर्ने कार्य र त्यसका लागि स्रोत, साधन, जनशक्ति परिचालनको आवश्यकता र औचित्यसहितको नयाँ कार्ययोजना तर्जुमा गरी तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र सोको अध्यावधिक जानकारी मुख्यमन्त्री समक्ष पेश गर्ने,’ निर्णय पनि गरेको छ ।