धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको लकडाउनलाई धरानमा कडाईकासाथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ । 

आज दिउँसो धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा ईलाका प्रशासन र सुरक्षा निकायको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख भएअनुसार बिहान ८ बजेसम्म दुध तथा दुधजन्य पदार्थ बेच्न र हरियो सागसब्जी घर घरमा पुर्याउने व्यवस्थालाई मात्र छुट दिने निर्णय गरेको छ । 

उपमहानगरपालिकाका राजश्व, पर्यटन तथा सुचना महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार बिहान ८ बजेसम्म दुध तथा दुधजन्य पदार्थमात्र बिक्री गर्न पाइनेछ । हरियो सागसब्जी भने पसल थापेर नभै डोको तथा साइकलमा घर घरमा पुगेर बेच्न पाइनेछ । ‘दुध तथा दुधजन्य पदार्थ मात्र बिहान ८ बजेसम्म बेच्न पाइनेछ । हरियो तरकारी, सागसब्जी पनि पसल खोलेर होइन, ८ बजेसम्म डोको र साइकलमा घर घरमा पुगेर बेच्न पाउनेछ, त्यसपछि पाइदैन । लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ,’उनले भने ।

बैठकमा मेयर राईसँगै ईलाका प्रशासन कार्यालयका प्रमुख सुभास लामिछाने, धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरीबाट दिनेश कटवाल, जिल्ला ट्राफिक कार्यालय प्रमुख भुवन बहादुर खड्का, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटालगायतको उपस्थिति थियो ।  meeting1