धरान: धरानमा कोरोना संक्रमित थप २ जनाको आज मृत्यु भएको छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं ११ र वडा नं १५ का दुई जना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार वडा नं ११ का ४० बर्षीय पुरुषको धरान १० स्थित विजयपुर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनको आज बिहानै ३ बजे मृत्यु भएको मेहताले जानकारी दिए । 

यस्तै, वडा नं १५ की ८५ बर्षीय वृद्धको पनि बिहान साढे ३ बजे मृत्यु भएको मेहताले जानकारी दिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै धरानमा कोभिडको दोस्रो लहर पछि मृत्यु हुनेको संख्या १७ पुगेको छ । 

१५ जना संक्रमित थपिए

धरानमा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोडिभको दोस्रो महामारी शुरु भएपछि बैशाख महिना यता मात्र धरानमा संक्रमित हुनेको कुल संख्या ९०२ पुगेको पनि मेहताले बताए ।