धरान: धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै शुक्रबार धरानमा एकैदिन मृत्यु हुने संक्रमितको संख्या ४ पुगेको छ ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार वडा नं १८ की कोरोना संक्रमित ७५ बर्षीय वृद्धको मृत्यु भएको हो । यस्तै, वडा नं ९ का ८८ बर्षीय वृद्धको पनि मृत्यु भएको हो । वडा १८ की वृद्धाको नोबेल मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो करिब ३ बजे मृत्यु भएको थियो ।
वडा १८ अध्यक्ष प्रविण राईका अनुसार मृतकको २५ बर्ष अघि ब्रेन ट्युमर भएर अप्रेसन गरिएको थियो । पुनः ब्रेन ट्युमर भएपछि १० दिनअघि उनको वीपी प्रतिष्ठानमा शल्यक्रिया गरिएको उनले बताए । शल्यक्रिया सफल भएपछि घरमा आराम गरिरहेको बेला श्वास फेर्न गाह्रो भएपछि आज बिहान करिब २ बजे वीपी प्रतिष्ठानमा लगिएको थियो । चिकित्सकको सल्लाहमै उनलाई नोबेल अस्पताल लगिएको थियो । नोबेलमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै, वडा ९ का वृद्धको भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिए । आज बिहान धरान ८ की ३४ बर्षीय युवतीको मृत्यु भएको थियो भने धरान १ का ३४ बर्षीय युवाको पनि मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि बैशाख महिनामा मात्रै धरानमा मृत्यु हुनेको संख्या १५ पुगेको छ