धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतलमा दैनिकरुपमा ७० हाराहारीमा संक्रमित भर्ना भएर उपचाररत छन् । ती विरामीहरुको आफन्तजनहरु अस्पताल भवन बाहिर त्रिपाल टाँगेर बसेका छन् ।
विरामी आफन्तको स्वास्थ्य अवस्था बुझ्न र समयमा खाजा, खाना खुवाउन, आवश्यक औषधी उपलब्ध गराउन भनेर बसेका कुरुवाहरुको त्रिपालको बास भएकोभन्दा पनि आफ्नो विरामीको अवस्थाप्रति चिन्तित छन् । आफुहरुले समयमा नै खाजा, खाना दिए पनि अस्पतालभित्र विरामीले भने दुई, तीन घण्टापछि मात्र खाना पाउने गरेको उनीहरुको गुनासो छ । आज बिहान यही बिषयमा विरामीका कुरुवाहरुले खाजा पुर्याउन ढिलाई गरेको भन्दै आक्रोश पोखे ।
भाईको कुरुवा बसेका धरान ८ का मोहन श्रेष्ठ आफुले बिहान ७ बजे नै खाजा दिए पनि विरामीले करिब पौने ११ बजेतिर मात्र पाएको बताए । विरामीले समयमा खाजा, खाना नपाउदा भोकै बस्नुपरेको उनको गुनासो छ । ‘मैले बिहान ७ बजेतिरै खाजा लगिदिनु भनेर दिएको थिएँ, तर १० बजेसम्म पनि पुगेको थिएन । विरामी भोकै बस्नु परेको छ,’उनले भने,‘मेरो मात्र होइन, यहाँ सबैको यस्तै छ ।’
कोभिड अस्पतालमा उपचाररत एक विरामीले मोवाइल सम्पर्कमा बिहान ७ बजेतिर खाजा ल्याइदिए पनि आफुले १० बजेरित पाएको बताए । ‘मलाई ७ बजेतिरै खाजा ल्याइदिएको थियो, १० बजेतिर मात्रै पाएँ,’ती विरामीले भने,‘किन ढिला भयो भन्दा थुप्रै विरामी छन्, एकै पटक कलेक्सन गरेर ल्याउने हो भने ।’
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले विरामीका आफन्तहरुको गुनासोहरुलाई सम्बोधन गर्नकै लागि २ जना फोकल पर्सन नियुक्ती गरेको बताएका छन् । उनले हिजो आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.विकास साहले कोभिड अस्पतालमा आन्तरिक व्यवस्थापन र विरामीको अभिलेख राख्ने काम गरिरहेको र खाना व्यवस्थापनको लागि एक जना कर्मचारी पनि नियुक्ती गरिएको दाबी गरेका छन् ।
‘खाना पुगिरहेको छ कि छैन, चिसो वा तातो के पुगेको छ, स्वास्थ्य खाना छ कि छैन भनेर हेर्न एक जना कर्मचारी नियुक्ती गरिएको छ,’उनले भनेका छन्,‘विरामीको आफन्त बाहिर बसेका हुन्छ, विरामीको अवस्था भित्र के कस्तो छ भन्ने जानकारी दिने काम डा.विकास साहले गरिरहनु भएको छ । विरामीको जानकारी र अवस्था डा.विकाससँग लिन आग्रह गछौं । विरामीहरुलाई काउन्सिलिंग निरन्तर दिइरहका छौं, दिन्छौं ।’
कोभिड अस्पतालका फोकल पर्सन डा.विकास साहका अनुसार बिहान साढे ७ बजेसम्म खाजा संकलन गर्ने समय तोकिएको छ । त्यसपछि, पिपिई लगाएर ८ बजेदेखि विरामीलाई खाजा पुर्याउन शुरु हुन्छ । ‘शुरुमा पाउनेले ८ बजे नै पाउछन्, पछि पाउनेको केही ढिलाई हुन्छ,’उनले भने ।