धरानः कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न जति गाह्रो छ, उतिकै कठिन छ संक्रमितको मृत्यु पछि शव व्यवस्थापन गर्न । धरानमा गत साता संक्रमितको शवलाई जातीय तथा धार्मिक सँस्कार अनुसार धरानको दाहसँस्कारस्थलमा जलाउन नदिदाको घटनाले शव व्यवस्थापन कति संवेदनशिल बिषय हो भन्ने प्रष्ट पार्छ । 

खासगरि परिवारले जलाएर अन्त्येष्टी गर्न चाहदा धरानमा समस्या भएको थियो । अहिले उपमहागनरपालिकाले वैकल्पिक दाहसँस्कारस्थल तयार गर्ने काम गरिरहेको छ । शवलाई गाडेर अन्त्येष्टी गर्नलाई ठाउँको समस्या छैन । चारकोशे जंगलमा गत बर्षदेखि नै खाल्डो खनेर शवलाई अन्येष्टी गरिदै आएको छ । तर, यो काम पनि सहज भने छैन । 

नेपाली सेनाको टोली, शव बोक्ने शववाहन चालक, खाल्डो खन्न जेसिभि चालकलगायत तयार नहुने हो भने यो कार्य पनि प्रभावित हुन्छ । तर, धरानमा भने गत बर्षदेखि नै उपमहानगरपालिकाको नेतृत्वमा शवलाई गाडेर व्यवस्थापन कार्य भइरहेको छ । यो टिम दिन रात नभनि शव व्यवस्थापनमा खटिएको छ । हिजो आइतबार राती ६ बजेदेखि राती १० बजेसम्म पनि प्रतिकुल मौषमको बेला पनि उनीहरुले धरानमा शव व्यवस्थापनमा खटिए । 

शव व्यवस्थापन टोलीको यही कार्यबाट प्रभावित भएर धरानका मेयर तिलक राईले उनीहरुलाई धन्यावाद दिएका छन् । मेयर राईले आज फेसबुकमा प्रतिकुल मौषमको पनि प्रवाह नगरि शव व्यवस्थापनमा खटिएको भन्दै टोलीलाई सन्देशमार्फत धन्यावद दिएका हुन् । शव व्यवस्थापन गर्दै गर्दा धरानमा पानी परेको थियो । तर, त्यसको पर्वाह नगरि उनीहरुले शव व्यवस्थापन गरेका थिए । 

मेयर राईले शव व्यवस्थापनमा नेपाल आर्मी, धरान उपमहानगरका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, नगर प्रहरी प्रमुख विष्णु कोईराला, जेसिभिका प्रोपाईटर पवन अग्रवाल, शवबाहन चालक भक्तबहादुर रोक्का, जेसिभीका अपरेटर लगायतका टिमको अहंम भुमिका रहेको उल्लेख गरेका छन् । ‘आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग रहने अपेक्षा गरेको छु,’ उनले लेखेका छन् । 

मेयर राईले कोरोना महामारीको दोस्रो लहरबाट जोगिनका लागि आम नगरबासीलाई सचेत र सजग रहन पनि आग्रह गरेका छन् । गत वैशाखयता मात्रै धरानमा कोरोना संक्रमणबाट १९ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि ९ सय ३३ जना पुगेको उल्लेख गरको छन् ।