मोरङ: हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ३ जनालाई पक्राउ गरेको छ ।
आज (बिहिबार) दिउँसो मोरङको बिराटनगर महानगरपालिका ११ रोडषेश चोकबाट उनीहरुलाई २१ लाख भन्दा बढी रकमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले शुरुमा विराटनगर १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ बर्षीया जिज्ञासा चौधरीलाई पक्राउ गरेको थियो । उनीहरुलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुलेको थियो ।
उनीहरुसँगै हुण्डी कार्यमा संग्लग्न बिराटनगर १३ का ३३ बर्षीय अमृत कुमार साह सुडी पनि रहेको खुलेपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको हो । साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार ५ सय र भारतीय रुपैयाँ २३ हजार वरामद भएको थियो भने बिभिन्न बैंकका चेकहरु पनि उनीको साथबाट वरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरि, अमृत कुमारको घरबाट नगद डिपोजिटको रसिद बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले गएको चैत्र महिनादेखि हुण्डी कारोवार ह्वाटएप मार्फत विभिन्न बैकको नाममा भएको खातामा रकम जम्मा गर्ने र त्यसको विवरण पनि ह्वाटएप मार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी भईरहेको छ ।