धरान: लकडाउनको कारण जेठ १ गतेदेखि बन्द रहेको धरान १३ स्थित थोक कृषि उपज बजार आजदेखि बिहान २ घण्टा मात्र खुल्न थालेको छ । 

धरान उपमहानगरपालिकामा हिजो कृषि बजार, उद्योग वाणिज्य संघ, स्वास्थ्य विज्ञसहितको टोलीबीच भएको छलफलले बिहान ४ बजेदेखि ६ बजेसम्म कृषि बजार खोल्ने सहमति गरेको थियो । सोही सहमति अनुसार आज बिहान २ घण्टा कृषि बजार खुलेको व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार उपभोक्ताको घर घरमा सिधै डेलिगरी गर्ने व्यापारीहरुको लागि मात्र तरकारी बिक्री गरिनेछ । कृषि बजारमा उपभोक्ताले पनि गएर किन्न पाउने छैनन् । धरानमा बिहान ८ बजेभित्र साईकल वा डोकोमा तरकारी घर घरमा पुर्याएर बिक्री गर्न छुट दिइएको छ । 

आज बिहान २ सय बोरा आलु र प्याज, ५० कार्टुन टमटर र ६ बोरा जति बन्दा कृषि बजारबाट बाहिरिएको थियो । ‘खुद्रा पसल र कृषि बजार बन्द छ भनेकोले किसानहरुको तरकारी आइराखेको छैन, जेठ १ गतेदेखि नै कृषि बजार पनि बन्द थियो,’भट्टराईले भने,‘तरकारी अत्यधिक महंगिएको गुनासोहरु पनि आइराखेको छ ।’ उनका अनुसार किसानको कृषि उपज आउन नरोकेपनि बिक्री गर्न भने बिहान ४ देखि ६ बजेभित्र मात्र पाउनेछन् । 

उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार कृषि बजारमा स्टोर भएका तरकारीहरु कुहिने अवस्थामा पुगेको र उपभोक्ताले महंगोमा किन्नु परिरहेको कुरालाई मध्यनजर गर्दै बिहान ४ देखि ६ बजेसम्म कृषि बजार खोल्ने समझदारी भएको हो । ‘गत बर्षकै मोडेलमा तरकारीको पसलहरु खोल्ने कि भन्ने थियो, तर स्वास्थ्य विज्ञबाट संक्रमणको दर अझै घटेको छैन, जोखिम हुन्छ भनेकोले नखोल्ने भयौं,’सापकोटाले भने,‘कृषि बजार चै बिहान ४ देखि ६ बजेसम्म मात्र खोल्ने समझदारी भएको छ ।’