मोरङ: सिलिकोन फुल फेस मास्क महंगोमा बिक्री गर्ने विराटनगरस्थित एक फार्मेसीका सञ्चालक कालोबजारीको अभियोगमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर ७ स्थित कोशी अस्पताल अघि रहेको अधिकारी फार्मेसीका सञ्चालक भुपेन्द्रनाथ अधिकारी पक्राउ परेका हुन् । प्रहरीका अनुसार अधिकारीले सुनसरीका दुहबी ७ का श्याम चौधरीलाई महंगोमा फेस मास्क बिक्री गरेका थिए । फेस मास्कमा कालोबजारी भइरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साँझ साढे ५ बजे अधिकारीलाई फार्मेसीबाट नै पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विराटनगर ९ घर भएका अधिकारीले ६ हजार ८८० रुपैया पर्ने फेस मास्कलाई ८ हजार ५ सय रुपैया लिएर चौधरीलाई बिक्री गरेका थिए । अधिकारीलाई उनकै फार्मेसीबाट एक थान फेस मास्कसहित पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका अधिकारीलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३३ कुसर अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी राईले बताए ।