इटहरी: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग सहकार्य गरेर इटहरीमा पीसीआर परीक्षणको दायरा वढाइएको छ ।
प्रतिष्ठानसँगको सहकार्यमा दैनिक सयजना बढिको परीक्षण शुरु गरिएको इटहरी उपमहानगरले जनाएको छ । पीसीआर र एन्टिजेन परीक्षणको दायरा वढाएर दैनिक तीन सयको परीक्षण गर्ने तयारी गरिएको मेयर द्धारिकलाल चौधरीले जानकारी दिए । अहिले दैनिक सय बढिको स्वाव संकलन गरि वीपीमा परीक्षण गर्ने व्यवस्था गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार आज पीसीआर र एन्टिजेन्ट गरि १ सय १० जनाको स्वाव धरान पठाइएको छ ।
प्रत्येक दिन विहान ७ वजे स्वाव संकलन गरि बेलुका रिर्पोट आउने व्यवस्था गर्न वीपी प्रतिष्ठानसँग उपमहानगरले आग्रह गरेको छ । उपमहानगरले परीक्षणका लागि रिएजेन्ट र आवश्यक समाग्रीको न्यूनतमा शूल्क भूक्तानी गर्ने प्रतिष्ठानसँग सहमति गरेको छ । उपमहानगरले निः शूल्क परीक्षण गर्दै आएको छ । यसअघि स्वास संकलन गरेर प्रदेश ल्यावमा पठाउदै आएको थियो ।
प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाएर दैनिक सय पुर्याउन समन्वय भइरहेको जनस्वास्थ्य निरीक्षक रामकुमार धमलाले जानकारी दिए । उनका अनुसार परीक्षणको लागि थप प्रयोगशालाकर्मीको ब्यवस्था पनि गरिएको छ । अहिले पाँच जनाको टोलीले स्वाव संकलनको कार्य गरिरहेको छ । यसअघि तीन जनाले गर्दै आएकोमा दुई जना संक्रमित भएर आइसोलेसनमा छन् । इटहरी अस्पताल, खनार स्वास्थ्यचौकी र दुईजना अन्यन्त्रवाट ब्यवस्था गरि पाँच जनाको टोलीले स्वाव संकलन गरिरहेको उपमहानगरले जनाएको छ ।
यसैबीच, इटहरी उपमहानगर एन्टिजेन परीक्षणका लागि समूदायस्तरमा पुग्न थालेको छ । आज इटहरी २ शान्तिनगरमा पुगेर ३७ जनाको परीक्षण गर्दा सात जनाको पोजेटिभ पाइएको छ । यसअघि इटहरी वडा नम्वर ३ को सूनौलो टोलमा दुई पटक एन्टिजेन परीक्षण गरिएको थियो । जोखिम क्षेत्रमा क्रमशः परीक्षण गरिने उपमेयर गौतमले बताइन् । उपमहानगरले कोरोना रोकथाम र नियनत्रणका लागि कन्ट्राक ट्रेसिङ्ग, आइसोलेसनको ब्यवस्था र उपचारको रणनीति लिएको छ ।