धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टको बिग्रिएको एउटा जिओलाइट सेट मर्मत भएको छ ।
बिहिबारदेखि नै मर्मत भइरहेको एउटा सेट बनेपछि प्लान्ट आधा क्षमतामा सञ्चालनमा आएको छ भने अर्को सेट पनि मर्मत भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले अर्को सेट पनि चाडै बनेर प्लान्ट पुर्णक्षमतामा सञ्चालनमा आउने अपेक्षा व्यक्त गरे । उनले भने,‘दुईटा युनिट मध्ये बिग्रिएको एउटा जिओलाइट बनिसकेको छ, अर्को पनि मर्मत कार्य हुदैछ । चाडै बन्छ भन्ने आशा लिएका छौं ।’
प्रतिष्ठानले दुवै सेट बनिसकेर प्लान्ट पुर्णक्षमतामा सञ्चालनमा आएपछि मात्र सार्वजनिक गर्ने सोच बनाएको थियो । तर, माओवादी केन्द्रका नेता चोत्लुंगले सामाजिक सञ्जाल फेसबुकबाट हिजो साँझ नै प्लान्ट मर्मत भएर सञ्चालन भएको सार्वजनिक गरेका थिए । प्रतिष्ठानका अक्सिजन प्लान्टमा ४ वटा ट्यांक छ । दुई वटा ट्यांकको एक सेट जिओलाइट हुन्छ । सोही जिओलाइट बिग्रिएर पुर्णक्षमतामा प्लान्टले अक्सिजन उत्पादन गर्न सकेको छैन । ‘एउटा सेट बन्यो, अर्को बन्दैछ,’वायोमेडिकल इञ्जिनियर प्रदिप साहले भने,‘एउटा सेट चल्दा ८ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन हुन्छ ।’
प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन प्लान्टबाट पाइपलाइनमार्फत सिधै अक्सिजन सप्लाई गरिएको छ भने नन् कोभिड अस्पतालमा पनि विगतका बर्षहरुदेखि नै अक्सिजन आपूर्ति भइरहेको थियो । तर, प्लान्ट बिग्रिएर पुर्णक्षमतामा सञ्चालन नभएपछि कोभिड अस्पतालमा अक्सिजन अभाव भएको भन्दै प्रतिष्ठानको चौतर्फी आलोचना भएको थियो । प्रतिष्ठानले भने सिलिण्डरमार्फत र मनिफोल्डमार्फत अक्सिजन सप्लाई भइरहेको जनाएको थियो ।