धरान: हिजो (बिहिबार) साँझ धरान १५ स्थित प्रहरी चौकीमा युवाहरुको एक समुहले चौकीमै प्रहरीमाथि आक्रमण गरेका थिए । 

लकडाउनको बेला भएको यो घटनाले धरानको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरिदिएको छ । उक्त घटनामा चौकी इञ्चार्ज सुमन दाहाल घाइते भएका थिए भने अन्य दुई प्रहरी सामान्य घाइते भएका थिए । दुई जना युवाहरु ज्यान जोगाउन चौकीमा पुगेको र उनीहरुलाई आक्रमण गर्ने गरि पछ्याउदै आएका अन्य युवाहरुले प्रहरी माथि नै आक्रमण गरेका थिए । 

खुकुरी, कट्टीसहित पुगेका आक्रमणकारी युवाहरु भाग्नुभन्दा अघि प्रहरी चौकीमा तोडफोड पनि गरेका थिए । जसको भिडियो फुटेज अहिले सार्वजनिक भएको छ । आक्रमणकारी युवाहरुले चौकीमा ढुंगामुढा गर्दै मोटरसाइकलमा भाग्दै गरेको भिडियो स्थानीयले खिचेका थिए । उक्त भिडियोमा ती आक्रमणकारी युवाहरु ढुंगामुढा गरिसकेर मोटरसाइकल र स्कुटरमा भाग्दै गरेको ५३ सेकेण्डको फुटेजमा देखिन्छ ।