धरान: धरानामा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएको छ । ती मध्ये २ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो भने एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १५ श्यामचोकका ६४ बर्षीय वृद्धको होम आइसालेसनमा मृत्यु भएको हो । वृद्धको बिहान साढे ७ बजे मृत्यु भएको थियो । यसैगरि, धरान १७ का ८४ बर्षीय वृद्धको पनि होम आइसोलेनसमा नै मृत्यु भएको मेहताले जानकारी दिए । उनको बिहान साढे १० बजे मृत्यु भएको थियो ।  

यसैगरि, धरान १६ की ५५ बर्षीय संक्रमित महिलाको पनि मृत्यु भएको हो । उनको आज दिउँसो करिब साढे ४ बजे वीपी प्रतिष्ठानको इर्मजेन्सीमा मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । उनका अनुसार उपचारको क्रममा इर्मजेन्सी लगिएकी महिलालाई संक्रमणको आशंका गरिएको थियो । उनको पिसिआर रिपोर्ट आउनु अघि नै मृत्यु भएपछि घर लगिएको थियो । मृत्यु भएको केही समय पछि उनको रिपोर्ट पोजेटिभ आएको थियो । यसअघि आज बिहानै धरान १७ की २८ बर्षीय युवतीको पनि बिहान सवा ४ बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।