धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गर्न धरानका नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको छ । 

वीपी प्रतिष्ठानमा बेथिती बढ्र्दै गएको निष्कर्ष निकालेर नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको हो । गत साता धरानका राजनीतिक दलहरुले अक्सिजन प्लान्ट तत्काल मर्मत गर्नुपर्नेलगायत मागहरु राखेर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यालयअघि धर्नासमेत दिएका थिए । सुनसरी उद्योग वाणिज्य संघ धरानको हलमा बुधबार आयोजित छलफलले वीपी प्रतिष्ठानको ख्याती पुनरुत्थान गर्न पुनः स्थानीय सरकार, नागरिक समाज र सम्पुर्ण राजनीतिक दलहरुबीच संयुक्त बैठक बस्ने निर्णय पनि गरेको छ । 

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता चोत्लुङका अनुसार उक्त छलफल वीपी प्रतिष्ठानलाई कसरी सुधार गर्न सकिन्छ भन्ने एजेण्डामा केन्द्रीत रहेको थियो । उक्त छलफलले केही दिनभित्रै स्थानीय सरकार प्रमुख, र उपप्रमुखसमेतको सहभागीतामा त्रिपक्षीय भेला गर्ने र ठोस निर्णय गरेर अघि बढ्ने समझदारी गरेको नेता चोत्लुङले बताए । ‘आज नगारिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको हो,’उनले भने,‘धरान सरकारका प्रमुख र उपप्रमुख दुवै जना वीपीको सिनेट सदस्य पनि छन्, त्यसैले उहाँहरुसहित केही दिन भित्रै त्रिपक्षीय भेला गर्ने समझदारी भएको छ ।’

उक्त बैठकले त्रिपक्षीय भेला नभएसम्मको लागि नागरिक सञ्जालकातर्फबाट डा.राजेन्द्र शर्माले समन्वय गर्ने र अवधारणा पत्र पनि नागरिक सञ्जालले तयार गर्ने निर्णय गरेको छ । नागरिक सञ्जालमा मनोजकुमार मेन्याङ्बो, हरिप्रसाद दाहाल, गौरीशंकर अग्रवाल, हर्ष सुब्बा, भवानी वराल र महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङ रहने बैठकले निर्णय गरेको छ ।