धरान: धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति फलाउने र फुलाउने सबै राजनीतिक दलहरु नै जिम्मेवार भएको बताएका छन् । उनले प्रतिष्ठानलाई सुधार गर्न राजनीतिक दलहरु नै अघि बढ्नुपर्ने पनि सुझाव दिएका छन् ।  

वीपी प्रतिष्ठानको सुधार गर्न तथा विकृति र विसंगति अन्त्यको लागि शनिबार धरान उपमहानगरपालिकाको प्रांगणमा आयोजित वृहत छलफलमा पुर्वमेयर मेन्याङ्बोले यस्तो धारणा राखेका हुन् । उनले प्रतिष्ठानको विकृति अन्त्य गर्न राजनीतिक दलहरुले म म गरेर आफ्ना आफ्नो गल्ती सच्याउदै जानुपर्ने पनि बताए । ‘यहाँ भित्रको विकृति फुलाउने र फलाउने सबै राजनीतिक पार्टी नै हुन्, त्यसको लागि म म गरेर आफ्नो आफ्नो गल्ती यहाँ भएको छ, यो गल्ती सच्याएर जाउ भनेर लाग्नुपर्छ,’पुर्वमेयर मेन्याङ्बोले भने ।

वीपी प्रतिष्ठानको सुधारको कुरा हुँदा सत्ता पक्ष र विपक्षमा रहेका राजनीतिक दलहरुबीच फरक धारणा रहेको भन्दै पुर्वमेयर मेन्याङ्बोले नागरिक समाजका अगुवाहरु राजनीतिक खेलभित्र प्रवेश गर्न नहुने पनि प्रष्ट पारे । सत्तामा पुगेपछि दलहरुको भनाई र मान्यता फेरिदै जाने भएकोले नागरिक समाज त्यो खेलमा फस्न नहुने उनको भनाई थियो । ‘मैले त भनिसके, यो सारा विकृतिको भाडो राजनीतिक पार्टीकै हो, त्यो सफा गर्ने काम उहाँहरुले नै गर्नुपर्छ । त्यहाँभित्र छिरेर हामी नागरिक समाज पनि कलंकको भागी हुन जरुरी छ जस्तो मलाई लाग्दैन,’उनले भने । 

manoj

नागरिक समाज र राजनीतिक पार्टीको जिम्मेवारी अलग अलग भएको भन्दै पुर्वमेयर मेन्याङ्बोले प्रतिष्ठानलाई सुधार गर्ने हो भने साझा लक्ष्य तयार गरेर अघि जानुपर्ने पनि बताए । उनले वीपी प्रतिष्ठानको सुधारको लागि मात्र नभएर समग्र धरानको विकासको लागि विभिन्न एजेण्डाहरुमा विकृति र विसंगति हटाउन धरान सरोकार समाज बनाएर अघि जानुपर्ने पनि सुझाव दिएका थिए ।

‘वीपीको मात्र कुरा किन गर्ने ? धरानको समग्र समस्याहरुलाई प्रभावित गर्ने गरि एउटा धरान सरोकार समाज गठन गरेर जानसक्छौं । त्यसलई स्थायी रुप दिएर सधैभरि परिचालित भइराख्ने अवस्था सृर्जना गरेर यहाँको खानेपानी समस्या हुन्, बसपार्कको समस्या हुन्, सडकको समस्या हुन्, वीपीको समस्या हुन्, सामाजिक विकृति र विसंगतिलाई सुधार गरेर जाने कुराहरु गरौं,’मेन्याङ्बोले भने,‘त्यसमा पार्टीको सपोर्ट लिएर, स्थानीय सरकारको सपोर्ट लिएर गयौं भने राम्रो कुरा गर्ला ।’ 

भिडियो :