धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि वृहतरुपमा दबाब दिने उद्देश्यले धरान नागरिक दबाब सञ्जाल गठन गरिएको छ । 

शनिबार बिहान धरान उपमहानगरपालिकाको प्रांगणमा नागरिक अगुवा तथा अभियन्ताहरुको भेलाले प्रतिष्ठानको सुधार गर्न तथा विकृति र विसंगती अन्त्यको लागि दबाबमुलक कार्यक्रम र अभियान सञ्चालन गर्न धरान नागरिक दबाब सञ्जाल गठन गरेको हो । उक्त सञ्जालको संयोजकमा प्रा.डा.राजेन्द्र शर्मा चयन भएका छन् । 

यसैगरि, सदस्य सचिवमा डा.कमल तिगेला छन् भने सदस्यहरुमा पुर्वमेयर मनोजकुमार मेन्याङबो, उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, आनन्द आचार्य, हर्ष सुब्बा, भवानी वराल, हरिप्रसाद दहाल, गौरीशंकर अग्रवाल, नरप्रसाद लुङ्फुङ्वा, चेतना सेरेङ, सिखा चेम्जोङ, हिरा उदास, राजविमल श्रेष्ठ, केशव घिमिरे, जनकऋषि राई, सुवास हुक्पा चोङवाङ रहेका छन् । 

संयोजक डा.शर्माले प्रतिष्ठानको विकृति नियन्त्रण गर्न, निगरानी गर्न दबाब सञ्जालले निरन्तर पहल गर्ने बताए । उनले समितिले आवश्यक कार्यदिशा तयार गर्ने र  अनियमितता, भ्रष्टचार, पदाधिकारीहरुको मनमुटावलाई अन्त्य गर्न कानुनी बाटो अपनाउने पनि प्रष्ट पारे । ‘आन्दोलन जारी रहदा अटेरी भएमा अर्कै स्वरुप पनि लिनसक्छ,’उनले भने । 

मेयर, उपमेयरसहित त्रिपक्षीय छलफल

नागरिक अभियन्ताहरुको बैठक अघि उपमहानगरप प्रांगणमा नै प्रतिष्ठानको सिनेट सदस्यसमेत रहेका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सवेदीसहित राजनीतिक दल र नागरिक अभियन्ताहरुको त्रिपक्षीय संयक्त बैठक भएको थियो । 

उक्त बैठकले उपमहानगरपालिकाले हेल्प डेस्क राख्ने निर्णय गरेको थियो । यस्तै, उपमहानगरपालिकाले प्रतिष्ठानको विभागीय प्रमुख, स्थानीयबासी, अग्रपंक्तिमा काम गरिरहेका डाक्टरहरुसँग नागरिक समाज र राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गर्ने वातावरण तयार गर्ने, वीपीका पदाधिकारीहरुसँग छलफल गर्ने वातावरण तयार गर्ने पनि निर्णय भएको थियो । 

nagarik-dawab1

यस्तै, प्रतिष्ठानमा कुनै एक सिनेटरको संयोजकत्वमा अनुगमन समिति गठन गर्न पहल गर्ने, नियमित अनुगमन सार्थै अनुगमनको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने पनि निर्णय भएको थियो भने वीपीको सन्दर्भमा हाल भइरहेको गतिविधिहरु प्रदेश सरकार र संघीय सरकारसम्म पुर्याउन उपमहागनरले पहल गर्ने पनि निर्णय भएको थियो ।

सुधार नभए उपकुलपति हटाउन आन्दोलन गर्ने

मेयर र उपमेयरसहितको त्रिपक्षीय छलफलमा निरन्तर दबाब दिदा पनि प्रतिष्ठान सुधार नभएमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई हटाउनेसम्मको आन्दोलन गर्ने बारे पनि छलफल भएको थियो । राजनीतिक दलका प्रतिनिधिहरुले विभिन्न चरणको दबाबमुलक अभियान गर्ने तर प्रतिष्ठान नेतृत्वले गम्भीरतापुर्वक लिएर बेथिती अन्त्य नगरेमा उपकुलपति डा.गिरीलाई हटाउन पनि आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए । 

माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघाले स्थानीय सरकार, नागरिक समाज र राजनीतिक दलहरु एकजुट भएर लाग्दा पनि सुधार नगरे हटाउन पनि लाग्नुपर्ने बताएका थिए । समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बुले प्रतिष्ठानको विकृति र विसंगति अन्त्य गर्न दबाब सृर्जना गर्दा पनि सुधार नभए उपकुलपतिलाई नै हटाउनेसम्मको आन्दोलन आवश्यक पर्ने बताए । नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोले तामाङले पनि पहिलो चरणमा सुधार गर्ने अभियान नै हुने तर त्यसबाट पनि नेतृत्व नसच्चिए व्यवस्थापनलाई हटाउने आन्दोलन हुने बताए । 

पुर्वमेयर मनोज कुमार मेन्याङबोले भने राजनीतिक दलहरुले जस्तरी नागरिक समाजले उपकुलपति हटाउने आन्दोलन गर्न उचित नहुने धारणा राखे । उनले नागरिक समाजले सुधार गर्न निरन्तर दबाब दिन सक्ने भन्दै नेतृत्व परिवर्तनको आन्दोलन भने राजनीतिक दलहरुबाटै हुनुपर्ने बताएका थिए ।

भिडियो: