धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्नको लागि धरान नागरिक दबाब सञ्जालले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उपकुलपतिले प्रश्नहरुको जवाफ नदिएको भन्दै केही पत्रकारहरुले आक्रोश पोखेका छन् ।

प्रतिष्ठानको अडिटोरियम हलमा सोमबार सञ्जालले उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीसहित चारै पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । त्यसक्रममा पदाधिकारीहरुले आ आफ्नो धारणा राखिसकेपछि सहभागी पत्रकार र राजनीतिक दलका नेताहरुले विभिन्न प्रश्नहरु गरेका थिए । ती प्रश्नहरुको जवाफ नदिएको भन्दै पत्रकारहरुले आक्रोश पोखेका हुन् । तनावपुर्ण हुने अवस्थामा धरानका मेयर तथा प्रतिष्ठानका सिनेटर तिलक राईले सहजीकरण गरेर स्थितिलाई सामान्यीकरण गरेका थिए । 

अन्र्तक्रियाको क्रममा अक्सिजन प्लान्टको मर्मत नगरिएको, इर्मजेन्सी अव्यवस्थित भएको, उपकुलपतिका भाई अजय गिरीले कमिशन नदिए चेकमा हस्ताक्षर नगरिदिने भनेको अडियो सार्वजनिक भएकोलगायतका बिषयहरुमा पनि पत्रकार र राजनीतिक दलका नेताहरुले प्रश्न गरेका थिए । ती प्रश्नको जवाफ उपकुलपति डा.गिरीले नदिए पछि पत्रकारहरु आक्रोशित भएका हुन् ।

धरान नागरिक दबाब सञ्जालका संयोजक डा.राजेन्द्र शर्माले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ उपकुलपतिले दिन नमाने पछि पत्रकारहरुले दिनुपर्ने अडान लिएको बताए । ‘प्रश्नको जवाफ झारो टार्न खोजेपछि पत्रकार साथीहरुले जवाफ दिनुपर्छ भनेका हुन्,’शर्माले भने,‘अजय गिरीको कुरा उठेको थियो । उपकुलपतिले मैले पहिलो पटक सुने, अडियो पनि पाए भने कारबाही गर्नु भन्नु भयो । यस्तै, ७ दिनभित्र अनुगमन समिति बनाउने र आउदो मंगलबार फेरि बैठक डाक्ने कुरा गर्नुभएको छ ।’