विराटनगरः मुख्यमन्त्री शेरधन राईले खुवालुङ बारे निरन्तर सस्तो र भ्रामक प्रचार भइरहेको बताएका छन् ।

आज प्रदेश एक सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले कसरी सेन्टिमेन्ट भड्काउन सकिन्छ कि भनेर केहि मान्छे निरन्तर चलखेलमा लागेको दाबी गरेका हुन् । ‘कसरी सेन्टिमेन्ट भड्काउन सकिन्छ, कसरी चलखेल र राजनीतिकरण गर्न सकिन्छ , एक अर्कालाई कसरी प्रहार गर्न र गराउन सकिन्छ भनेर यस्ता खालका हमलाहरु भइरहेका छन्,’ मुख्यमन्त्री राईले भने,‘हामीलाई थाहा छ त्यो ढुँगा मात्र थियो भने फुटाउन योग्य थियो । तर, त्यो ढुँगा मात्र होइन, किरातीको आस्था र सभ्यताको धरोहर हो । कसैको संस्कृतीसँग जोडिएको त्यस्तो ढुँगा कसरी फुट्न सक्छ ?’

जल यातायातको विकासका लागि कोशीमा आवश्यक काम अघि बढ्ने क्रममा अनुसन्धान हुँदा केही ठाउँमा अवरोध भएको र खुवालुङ्गमा पनि देखिएको हुँदा अहिले सरकारले यसबारे विस्तृत अध्ययन गरि बजेट समेत विनियोजन भइसकेको बताए । उनले खुवालुङ्गमा रहेको उक्त ढुँगालाई जोगाएर जल यातायात सुचारु गर्ने योजनामा सरकार रहेको भन्दै कसैले हल्ला गर्दैमा त्यो फुट्ने कुरा नहुने स्पष्ट पारे । ‘हामीले त्यस ठाउँको भ्रमण गर्यौ र त्यो संरक्षण गर्नुको विकल्प छैन भन्ने कुरा गर्यो केन्द्रीय सरकारलाई पनि भन्यौ,’राईले भने,‘पानी जहाज कार्यालयबाट बजेट समेत विनियोजन भएर अहिले विस्तारै पानीको बहाबलाई च्यानलिन गर्ने काम भइरहेको छ ।’

निजी क्षेत्रबाट कहिँ कतै कुरा उठेको भए पनि तीनै तहका सरकारसँग खुवालुङ्गको ढुँगा फुटाउने बारे कहिँ निर्णय नभएको उनको भनाई छ । मुख्यमन्त्री राईले स्पष्ट पारे– ‘स्थानीय तह , प्रदेश र केन्द्र तहमा फुटाउनुपर्छ भन्ने कहिँ बहस भएको छैन । तसर्थ यस बारेमा हमीले स्पष्ट हुनुपर्छ । नीतिगत तहमा जलपयर्टनको विकास हुनुपर्छ । ’