धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि आएका एक ६१ बर्षीय वृद्धमा कालो ढुस्सी (ब्लाक फंगस) संक्रमण देखिएको छ । ती विरामीलाई शल्यक्रिया र उपचार पश्चात डिस्चार्ज गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । 

यो शल्यक्रिया पुर्वमा पहिलो भएको प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानका विरामी काठमाण्डौं निवासी हुन् । उनी जेठ १३ गते प्रतिष्ठानको नाक, कान तथा घाँटी विभागको ओपिडीमा उपचारको लागि आएका थिए । प्रतिष्ठानमा आउदा वृद्धलाई अनुहारको देब्रे पाटो सुन्निएर पीडा भएको र देब्रे आँखा पनि रातो भएको समस्या थियो । प्रतिष्ठानमा आउनु १० दिन अघि ती वृद्ध कोभिड १९ संक्रमण भएर काठमाण्डौंको वीर अस्पतालमा उपचार गरि डिस्चार्ज भएका थिए । वृद्धलाई उच्च रक्तचाप र सुगरको पनि समस्या छ । 

प्रतिष्ठानमा विरामीको जांच गर्ने क्रममा नाकको देब्रेपट्टिको प्वालभित्रको पछाडीको भागसम्म कालो भएर पिप जमेको अवस्थामा पाइएको थियो । वृद्धलाई सोही दिन वार्डमा भर्ना गरेको र भोलिपल्ट जेठ १४ गते शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । वृद्धलाई नाक, कान, घाँटीका विशेषज्ञ डा.शंकर प्रसाद साहको नेतृत्वमा शल्यक्रिया भएको थियो । डा. साहको नेतृत्वमा कालो ढुस्सी संक्रमित वृद्धको अप्रेशसनमा डा.राजन मुल्मी, एनेस्थेसिया विभागबाट प्रा.डा. विरेन्द्र प्रसाद साह, प्रा.डा. कृष्णा पोखरेल, डा.जेनी बज्राचार्य, नर्सहरु सरिता ठाकुर, रेणुका राजवंशी तथा हेल्पर दुर्गा बिकको टोलीले पनि शल्यक्रियामा संलग्न रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । 

Black fungus 2

शल्यक्रियाको क्रममा नाकभित्रको कालो भएको भागलाई निकालेर ल्याब परिक्षण गर्न पठाइएको थियो । उक्त परिक्षणको रिपोर्टले वृतलाई कालो ढुस्सीको संक्रमण भएको पुष्टि गरेको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । कालो ढुस्सी एक प्रकारको घातक संक्रमण हो । समयमा उपचार नपाए विरामीको प्राणै पनि जानसक्ने चिकित्सकको भनाई छ । 

शल्यक्रिया पश्चात वृद्धलाई थप उपचारका लागि प्रतिष्ठानको नाक, कान तथा घाँटी वार्डमा भर्ना गरिएको थियो । नाक, कान तथा घाँटी विभागका प्रा.डा. श्याम थापा क्षेत्री तथा विभागका अन्य विशेषज्ञ चिकित्सकहरुबाट नियमितरुपमा इण्डोस्कोपी एवं उपचार गरिएको प्रतिष्ठानको भनाई छ । उपचारको क्रममा मेडिसिन विभाग तथा आँखा विभागका विशेषज्ञ चिकित्सकहरुको पनि परामर्श लिई उपचार गरिएको र उनलाई दुई दिनअघि शुक्रबार बेलुका डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । 

dr-sankar-sah 1

कोभिडका विरामी निको भएर डिस्चार्ज भइसकेको १० देखि ५० दिनको भित्रमा यो संक्रमण देखिन डा.साह बताउँछन् । उपचारको क्रममा विरामीलाई स्टेरोइड थेपारी दिइएको र अक्सिजनमा राखिएको छ भने यो रोग हुने धेरै सम्भावना रहने डा.साहले बताए । ‘कोभिड विरामी निको भएर डिस्चार्ज भइसकेकालाई यो समस्या देखिने उच्च सम्भावना हुन्छ । नाकबाट कालो रगत आउने, आँखा देख्न समस्या भयो र अनुहारमा दुखाई भयो भने तत्काल चिकित्सकको सम्पर्कमा जान आग्रह गछौं,’डा.साहले भने,‘समयमै उपचार नगरेमा तीब्ररुपमा फैलने र आँखा नदेख्ने, विस्तारै ब्रेनमा गएर विरामीको ज्यान जान पनि सक्छ ।’