धरान: यही शैक्षिक सत्रदेखि प्लस टु कक्षा सुरु गर्न लागेको धरान १२ स्थित हिमालयन मेघा कलेजमा खाद्य प्रविधि तथा पोषण विज्ञान र होटल म्यनेजमेन्ट विषयमा पनि पढाई हुने भएको छ । 

खाद्य प्रविधि तथा पोषण विज्ञान विषय नीजि विद्यालयमा पहिलो पटक अध्यापन गराउन लागिएको हिमालयन मेघा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिएका छन् । म्यानेजमेन्ट र साइन्स विषयको अध्यापनको पनि यसै सत्रदेखि सुरु गरिने घिमिरेले बताए ।

नेपालको शिक्षा नीति अनुसार कक्षा १ देखि १२ सम्म एउटै विद्यालयमा सञ्चालनमा गर्नुपर्ने प्रावधानलाई अवलम्बन गर्दै यो शैक्षिक सत्रबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने तयारी हिमालयन मेघा कलेजले गरेको हो । यसअघि प्ले गु्रपदेखि कक्षा १० र स्नातक तहको मात्र यहाँ अध्यापन भइरहेको थियो । हिमालयन मेघामा विद्यार्थीले अवदेखि कक्षा ११ र १२ समेत रेगुलर अध्यपन गर्न सहज हुने कलेजका अध्यक्ष कैलाश लिम्वुले वताए । 

नेपालमा स्नातक तहमा खाद्य प्रविधि र पोषण विज्ञान पठनपाठन भैरहेको छ । यो अवस्थामा ११ र १२ कक्षामा यो विषयको पठपाठन हुँदा विद्यार्थीहरु विद्यालय तह बाटै व्यवाहारिक शिक्षाबाट लाभान्वित हुँदै आत्मानिर्भर हुने डाइरेक्टर घिमिरेले बताए । स्नातकमा पढाइ हुने विषयलाई ११ र १२ कक्षामा विद्यार्थीहरुले आधारभुत ज्ञान प्राप्त गर्न सक्ने उनको भनाई छ । यो विषयमा १२ पास गरेपछि ती विद्यार्थीले खाद्य प्रविधि र पोषण विज्ञान सम्बन्धी व्यवसाय सञ्चालन गर्नुका साथै खाद्य उद्योग तथा स्वस्थ्य क्षेत्रमा रोजगारको लागी दक्ष बन्ने उनले बताए ।