धरान: कोभिड १९ अस्पतालका विरामीहरुको कुरुवाहरुको लागि निर्माण गरिएको कुरुवा घर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । 

एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । अग्रवाल समाजका ज्येष्ठ नागरिक ९३ बर्षीय महावीर प्रसाद अग्रवालले कुरुवा घर हस्तान्तरण गरेका थिए । कार्यक्रमका अध्यक्ष समेत रहेका मेयर तिलक राईले कोभिड अस्पतालमा उपचाररत विरामीको आफन्तहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर निर्माण गरिदिएको बताए । विरामीको आफन्तहरु अत्यन्तै अव्यवस्थित तरिकाले अस्पताल बाहिर बसेको गुनासो आएपछि शौचालय, स्नान घरसहितको कुरुवा घर निर्माण गरिएको उनले बताए । 

मेयर राईले कुरुवाहरुको लागि सुचना बोर्ड राख्न प्रतिष्ठानलाई आग्रह गरेका छन् । आफुले प्रतिष्ठानलाई यसअघि नै आग्रह गरेको खुलाउदै मेयर राईले सुचना बोर्ड राखेर एउटा विरामीका लागि कति जना कुरुवा बसेका छन्, उनीहरुको नाम टिपोट गर्ने र व्रिफिङ गर्ने समय तालिका बनाउनुपर्ने बताए । उपमेयर मञ्जु भण्डारीले कुरुवा घर निर्माण गरेर परोपकारी कार्य गरेको बताइन् । उनले अस्पतालमा उपचाररत विरामीको सहि ढंगबाट उपचार हुनुपर्नेमा जोडदिदै कुरुवा घरलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न पनि सुझाव दिइन् । 

वीपी प्रतिष्ठानका निमित्त उपकुलपति एवं रेक्टर डा. गुरु खनालले कोभिड अस्पतालमा कुरुवा घर आवश्यक रहेको बताउँदै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभालाई धन्यवाद दिए । प्रतिष्ठानले अब कुरुवा घरको व्यवस्थित तरिकाले संरक्षण गरेर राख्ने पनि उनले बताए । मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले मेयरको आग्रह अनुसार कुरुवा घर निर्माण गरिदिएको बताए । उनले १८ फिट चौडाई र ८० फिट लम्बाई भएको कुरुवा घर, १८ फिट चौडाई र १२ फिट लम्बाई भएको शौचालयसहितको स्नानघर प्रतिष्ठानलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

अध्यक्ष अग्रवालका अनुसार कुरुवा घर १८ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । उनले पनि कुरुवा घरलाई संरक्षण गरेर राख्न आग्रह गरेका थिए । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, नेपाल अग्रवाल सभाका अध्यक्ष पवन अग्रवाल, धरान उपमहानगरपालिकाका कानुनी सल्लाहकार जेके साम्पाङ, न्यायिक समितिका सदस्य विकास बनेपालीको उपस्थितिमा कुरुवा घर हस्तान्तरण गरिएको थियो ।