धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभा भोली आह्वान गरिएको छ । उक्त नगरसभामा ल्याउन लागिएको बजेटबारे भने अझै सहमति जुटिसकेको छैन । 

कोभिडको कारण प्रभावित बजेटको तयारीबारे आजसम्म पनि माथापाच्ची भइरहेको छ। राजश्व परामर्श समितिको बैठक दिउँसो १२ बजेदेखि भइरहेको छ । दिउँसो ४ बजेदेखि बजेटकै बिषयमा कार्यपालिका बैठक बस्ने तयारी गरेपनि यो समयमा बैठक बसेको छैन । उपमहानगरले २ अर्बभन्दा मुनिको बजेट ल्याउने गरि तयारी गरेको छ । ‘यति नै फिगर भन्ने छैन, तर २ अर्ब भन्दा मुनिको बजेट आउछ,’राजश्व परामर्श समिति स्रोतले भन्यो ।

बजेटबारे कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरु र मेयर तिलक राईबीच मतभेद छ । यो बजेट जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम भएकोले बजेट नगरस्तरीय योजनामा केन्द्रीत गर्ने कि वडामा बाँडफाँड गर्ने भन्ने बिषयमा मतभेद भएको हो । मेयर राई नगरस्तरीय योजनाहरुमा बजेट केन्द्रीत गर्न चाहन्छन् भने वडाअध्यक्षहरु वडामा बजेट विकेन्द्रीत हुनुपर्छ भनिरहेका छन् । 

आज बस्न लागेको कार्यपालिका बैठकमा बजेट सिलिङबारे छलफल हुनेछ बताइएको छ । ‘आज बजेटको सिलिङ बारे बैठक छ, बजेटको सिलिङ अहिलेसम्म पाएका छैनौ,’वडा नं १२ का अध्यक्ष टंक राईले भने,‘बजेट धेरै मेयरले नगरस्तरीय योजनामा र मेयर कोषमा राख्न खोज्दैछन् । हामीले वडामा बजेट दिनुपर्छ, विकेन्द्रीकरण हुनुपर्यो भनिरहेका छौं । ’

राजश्व परामर्श समितिको संयोजकसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बजेटबारे छलफल निरन्तर भइरहेको बताइन् । उनले लकडाउनमा पनि चलायमान भएको क्षेत्रसँग राजश्वबारे सहकार्य गरेर अघि बढ्ने बताइन् । तर, पुर्णरुपमा प्रभावित क्षेत्रलाई भने विगतमा जस्तै राजश्वमा छुट दिइनेबारे छलफल भइरहेको बताइन् । ‘जनतालाई लकडाउनले परेको आर्थिक क्षतिको भरणपोषण गर्ने गरि नै नीति ल्याउनेछौं, केन्द्रले पनि त्यही निती लिएको छ,’उनले भनिन् ।