धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे सहमति हुन सकेको छैन । 

आज (बुधबार) बजेट, नीति तथा कार्यक्रम अनुमोदन गर्ने गरि बसेको कार्यपालिका बैठक बिहिबार पुनः १२ बजे बस्ने गरि टुंगिएको थियो । बैठकमा नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे छलफल भए पनि अनुमोदन हुन नसकेको कार्यपालिकाका प्रवक्ता एवं वडा न. २० का अध्यक्ष मणीराम राईले जानकारी दिए । समयमा नै वडाहरुलाई बजेटको सिलिङ उपलब्ध नगराएको बिषयमा असन्तुष्टी जनाएका थिए । ‘वडा अध्यक्षहरुले वडा केन्द्रीत बजेट बनाउनुपर्छ भन्नेमा जोडदिइरहेका छन् । मध्यमार्गी नीति लिएर २० वटै वडालाई २८ करोड बजेट दिने कुरा भएको छ,’प्रवक्ता एवं अध्यक्ष राईले भने,‘बजेट र नीति तथा कार्यक्रम अनुमोदन हुन बाँकी छ , भोली १२ बजे फेरि कार्यपालिका बैठक बस्छ ।’

बजेट नगरस्तरीय आयोजना र महाशाखाहरुलाई धेरै राख्ने प्रस्ताव भएकोमा अध्यक्षहरुको चर्को असन्तुष्टी छ । उनीहरुले नगरमा केन्द्रीकृत नगरि वडाहरुमा बजेट विकेन्द्रीकरण गर्नुंपर्ने माग राखेका छन् । नगर गौरवको आयोजनामा पनि बढी बजेट राखिएकोमा उनीहरुको असन्तुष्टी छ । बिहिबार बिहान सहजीकरण समितिको बैठक बस्ने र १२ बजे कार्यपालिका बैठक बसेर बजेट, नीति तथा कार्यक्रम अनमोदन गर्ने योजना छ । लगत्तै १ बजेदेखि सुनसरी उद्योग वाणिज्य संघमा नगर सभा उद्घाट हुनेछ । 

नगरसभाको प्रमुख अतिथि प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारी प्रमुख अतिथि हुनेछन् भने प्रदेश सभा सदस्यहरु सावित्री श्रेष्ठ, उमिता वराइली, चन्द्रप्रसाद श्रेष्ठ पनि बिशेष अतिथिकोरुपमा उपस्थिति रहनेछ । नगरसभामा आर्थिक विधेयक, विनियोजन विधेयक र नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । यता, वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले भने वडाको सिलिङको बिषयमा टुंगो लागेको र ब्रेक डाउनबारे उद्घाटन सत्रपछि छलफल हुने बताए । ‘वडाको सिलिङ के हो भन्ने थियो, त्यो टुंगो लागेको छ । ब्रेक डाउनबारे उद्घाटन सत्र पछि छलफल हुन्छ,’उनले भने ।

२ अर्ब ३ करोड बढीको बजेट

यो बर्ष धरानको बजेट २ अर्ब बढीको आउदैछ । एक कार्यपालिका सदस्यका अनुसार धरानको बजेट २ अर्ब ३ करोड ६४ लाख हाराहारीको पेश हुने तयारी छ । यो बजेट गत बर्षको भन्दा करिब २६ करोड बढी हो । गत बर्ष १ अर्ब ७७ करोडको बजेट पेश भएको थियो । 

नयाँ व्यवस्था अनुसार २०७४ सालमा चुनिएको पहिलो स्थानीय सरकारको हैसियतले आफ्नो कार्यकालको अन्तिम बजेट, नीति तथा कार्यक्रम हो । त्यसैले यो बजेट चुनाव लक्षित पनि हुनेछ । मेयर तिलक राई र एमालेको बहुमत रहेको कार्यपालिका वडाअध्यक्षहरुबीच बजेट तानातान हुनुको कारणहरुमध्ये पनि यही हो । 

नेपाली कांग्रेसबाट उपनिर्वाचनमार्फत चुनिएको मेयर तिलक राई कार्यपालिकामा अल्पमतमा छन् । एमालेको बहुमत रहेको कार्यपालिकामा बजेट, नीति तथा कार्यक्रम आफु अनुकुल पारित गराउन मेयर राईलाई कठिन हुन्छ । गत बर्ष पनि बजेट, नीति तथा कार्यक्रम पारित गराउन हम्मे भएको थियो ।