धरान: धरान उपमहानगरपालिकाले बहुजातीय शिक्षालय स्थापना गर्ने जनाएको छ । 

आगामी आर्थिक बर्ष २०७८/७९ मा धरानमा बसोबास गर्ने विभिन्न जनजातिहरुका मातृभाषा अध्ययन गरिने शिक्षालयकोरुपमा विकास गर्न बहुजातीय शिक्षालय स्थापना गरिने भएको हो । धरानको नीति तथा कार्यक्रममा समेटिएको यो योजनाको लागि भौतिक पुर्वाधार निर्माण गर्न उपमहानगरपालिकाले उचित स्थान उपलब्ध गराउने उल्लेख छ । ‘सो स्थानमा प्रत्येक जातजातिहरुको कक्षाकोठा निर्माण गर्न सम्बन्धित जातिको निर्माण उपसमिति गठन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

यो शिक्षालय मातृभाषा अध्ययनको लागि मात्र नभै विभिन्न जातजातिको रितिथिति, सँस्कृति, रहनसहन, परम्परा र इतिहास अध्ययन गर्ने प्रतिष्ठानकोरुपमा विकास गरिने पनि उपमहानगरको भनाई छ । साथै, शिक्षालयमा प्रत्येक जातिको सँस्कार, सँस्कृति र परम्परा अध्ययन अवलोकन गर्न शिक्षालयलाई पर्यटकीय क्षेत्रकोरुपमा समेत विकास गरिने उल्लेख छ । 

यस्तै, समिति तथा उपसमितिले उपमहानगरपालिकासँग समन्वय गरि आ आफ्नो आवश्यकता अनुसार उपलब्ध भएको स्थानमा स्वीकृत अवधारणा अनुरुप भवन तथा कक्षा कोठा निर्माण गरिने उपमहानगरले जनाएको छ । कक्षाकोठामा शुरुवातदेखि भाषा अध्यन गराई मातृभाषामा दक्ष बनाइनेछ भने कक्षा कोठा सबै जातजातिहरुको साँस्कृतिक पहिचान झल्कने अनुसार निर्माण हुनेछ ।

शिक्षालयमा पढ्ने विद्यार्थीहरुको आर्थिकस्तर न्युन भएमा उनीहरुलाई सामुदायिक विद्यालयमा निःशुल्क अध्ययन गर्न छनौटको आधारमा सिफारिश गरिने उपमहानगरले जनाएको । सबै उमेर समुहका व्यक्तिले भाषा सिक्न इच्छा भए पढाउने व्यवस्था हुनेछ ।