धरान: धरान उपमहानगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । 

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा निर्धारित समय भन्दा तीन घण्टा ढिला गरि नगरसभा शुरु भएको हो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगरसभा शुरु भएको हो । नगरसभामा आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइरहेको छ । अहिले उपप्रमुख मञ्जु भण्डारी सुवेदीले नीति तथा कार्यक्रम वाचन गरिरहेकी छिन् । त्यसअघि मेयर तिलक राईले नगर सभा सञ्चालन कार्यविधि वाचन गरेर सुनाएका थिए ।

धरानको कुल २ अर्ब ३ करोड ६४ लाखको बजेट नगरसभामा पेश भएको छ । यो बजेट चालु आर्थिक बर्ष २०७७/७८ भन्दा करिब ३१ करोड बढी हो । चालु आर्थिक बर्षको बजेट १ अर्ब ७२ करोड ५४ लाख ४१ हजार ४ सय ४० रहेको थियो ।  आगामी आर्थिक बर्षको बजेटमा धरानको २० वटा वडाको लागि २८ करोड बजेट विनियोजन गरिएको छ । वडालाई दिइएको यो बजेट चालु आर्थिक बर्षको भन्दा ४ करोड बढी हो । मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख, आकस्मिक कोषमा ३० लाख विनियोजना गरिएको छ भने चालु भैपरी आउने खर्चमा २० लाख र विपद व्यवस्थापन कोषमा १ करोड बजेट विनियोजन गरिएको छ । 

nagarsava

यसैगरि, पर्यटनमा ३५ लाख, युवा तथा खेलकुदमा १ करोड बजेट विनियोजन गरिएको छ । नगरस्तरीय ६३ वटा आयोजनाहरुको लागि १८ करोड ३१ लाख विनियोजना गरिएको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी कार्यक्रमको लागि ५० लाख बजेट विनियोजन गरिएको छ । 

कोभिड १९ को असरले राजश्वको संकलन लक्ष्य अनुरुप हुन नसकेको र आन्तरिक स्रोतबाट संकलन हुने आय कमी भएकोले यो बर्ष बजेटमा अनुत्पादक क्षेत्रको खर्चलाई कटौती गर्ने नीति अबलम्बन गरिएको गर्दै विगतमा भन्दा कम बजेट विनयोजन गरी मितव्ययी बजेट बनाउने प्रयास गरिएको उपमहानगरले जनाएको छ । करको दर पुनरावलोकन गर्नुपर्ने चाहनालाई सम्बोधन गरी करको दर र दायरा फराकिलो बनाएर जनमैत्री करको अवधारणा अनुसार राजश्व नीति अवलम्बन गरिएको उपप्रमुख भण्डारीले बताइन् । 

nagarsava1

उपमहानगरपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त र परादर्शीढंगबाट विद्युतीय माध्यमबाट प्रवाह गरि सर्वसुलभ बनाउने लक्ष्य लिइएको छ । अनियमितता र ढिलासुस्ती निर्मल गरि भ्रष्टचारमा शुन्य सहनसिलताको नीतिलाई प्रभावकारीढंगले कार्यान्वयन गर्न आन्तरिक अनुशासन इकाई गठन गर्ने र भ्रष्टचाररहित नगरपालिकाः धराने जनताको अभिलाषा भन्ने नारालाई मुल मन्त्रकोरुपमा कार्यान्वयन गर्ने उपमहानगरले जनाएको छ । यस्तै, धरानलाई प्रदेश नं १ मा शिक्षा, स्वास्थ्य, पर्यटन र बहु साँस्कृति आवसीय शहरकोरुपमा विकास गर्ने नीति पनि अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।