धरान: दैनिकरुपमा बिहान ८ बजेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्ष अघि फ्याकल्टी, विद्यार्थी, कर्मचारी र नर्सहरु भेला हुन्छन् । कहिले र्याली निकाल्छन्, भने कहिले त्यही विरोध सभा गरेर फर्कन्छन् ।

संयुक्त संघर्ष समितिले आज (आइतबार) वृहत विरोध कार्यक्रम आयोजना गरेको थियो । चर्का भाषण त हुने नै भयो, कहिले कही आन्दोलनकर्ता डाक्टर, कर्मचारीहरुले कविता वाचन पनि गरिरहेकै हुन्छन् । त्यसै क्रममा आज एमबिबिएस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी किरण चन्द्र पुनले एक कविता सुनाए, जसले विद्रोहको आगो मात्र ओकलेन, प्रतिष्ठानको बेथिती, विसंगतिलाई छताछुल्ल पार्यो, र आन्दोलनकारीहरुलाई उर्जा थप्यो ।

kiran pun

कविता वाचन गर्नुअघि उनले आफुलाई प्रधानमन्त्री, उपकुलपतिको छोरा जस्तै हुँ भनेर घुँडा टेकेर अनुरोध गर्दै भने,‘म प्रधानमन्त्री, भिसिहरुको छोराजस्तो मान्छे हुँ, उहाँहरुको अघि घुँडा टेकेर अनुरोध गर्दछुँ, कृपया मेरो पुस्तालाई सम्झेर निर्णय लिइदिनुहोस् । तपाईले हामीलाई वा आम मान्छेलाई सम्झेर निर्णय गरिदिनु भयो भने आउदो पुस्तालाई राम्रो हुन्छ ।’ उनले आफ्नो कविता, कविता मात्र नभै बोल्न नसकिरहेका, रिक्सा चलाइरहेका, प्रतिष्ठानको भुँइमा सुतिरहेका भुँइमान्छेहरुको आवाज, आफ्नो पुस्ताको आवाज भएको प्रष्ट्याए, र घुँडा टेकेर कविता वाचन शुरु गरे,:


ए भ्रष्ट दलालहरु हो

कान खोलेर सुन,

मुर्ख पाखण्डीहरु हो,

आँखा खोलेर हेर,

ए नर्तकी चाटुकारहरु हो,

मगजको बिर्को उघारेर हेर,

एक पटक होइन 

पटक पटक तिमीले लगाएको

दोषी चस्मा फुकालेर हेर,

के तिमीलाई दलदलमा फसिरहेको प्रतिष्ठान देख्दैन हो ?

के तिमीलाई देश बदल्ने प्रतिष्ठानको कुनै माया छैन हो ?


के तिमीलाई ती एक सर्को लगाउन नपाएका,

एक छाक टार्न धौ धौ परेका

जो बाच्ने आशमा  प्रतिष्ठानको भुईमा 

धरती ओछ्याएर

आकाश ओढेर सुतिरहेका हुन्छन्,

के तिमीलाई तिनीहरुको व्यथाले पोल्दैन हो ?

के तिनीहरु तिमीहरु जस्तो चिल्लो गाडी चढन पाएनन्

बाक्लो ओछ्यानमा सुत्न पाएनन् भन्दैमा के मर्नु पर्ने हो ?

के तिनीहरु, 

तिमीहरु जस्तो दुई चार अक्षर पढन जानेन भन्दैमा

धरतीभित्र गढ्नु पर्ने हो ?


मान्छे पढेर  बुझेर, एउटा पाखण्डी बन्छ भने

मलाई त्यो पढाइ पढनु छैन

बरु मलाई तेहि भुइँमान्छे नै बन्नु छ 

जस्ले कर्म गरेर यो देश सजाउंछ

न की तिमीहरु जस्तो भ्रष्ट भएर दुनियाँ हसाँउछ 


जलाईदेउ

तिम्रा ती कागजी डिग्रीहरु,

जब ति डिग्रीहरु नै

देश बदल्ने अभिलाषा बोकेका 

म जस्ता युवाको भविष्यमाथि खेलवाड गर्छन् भने

देश बदल्ने संम्भावना बोकेको

प्रतिष्ठानमाथि हमलै हमला गर्छन भने,

एउटा भुइँमान्छेको पीडा र रोदन नबुझी

माफिया र भ्रष्टहरुको पक्षपोषण गर्छन् भने

के काम ती कागजी खोस्टाहरुको

जस्ले, 

सत्य र न्याय,

धर्म र सेवा,

दुःखी र गरिब,

देश र जनता बुझ्न सक्दैन भने,


आमा,

मलाई ठुलो मान्छे बन्नु छैन 

मलाई केवल असल मान्छे बन्नु छ,

कतै मैले ठुलो मान्छे बन्ने होडमा

आफ्नो धरातल बिर्सिएर

असल मान्छे बन्न बिर्से भने

तिमीले मलाई बच्चामा लगाउने थप्पड 

पटक पटक मेरो गालामा बजार्नु है,

यहाँ त आमा बेच्नेहरुको बिगबिगी बढेको छ रहेछ

कतै तिम्रो छोरा पनि आमा बेच्ने बाटोमा हिडदै त छैन ?