धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा.मधुर बस्नेतले प्रतिष्ठानको बेथितिविरुद्ध सिनेटर, कार्यकारिणी समिति सदस्य र विभागीय प्रमुखहरुले पनि बोल्नुपर्ने बताएका छन् । 

संयुक्त संघर्ष समितिको वृहत विरोध सभालाई सम्बोधन गर्दै डा.बस्नेतले प्रतिष्ठानको जिम्मेवार निकायहरु चुप लागेर बसेकै कारण समस्या बषौंदेखि थाती रहेको धारणा राखे । उनले अहिलको आन्दोलन लम्बिदै जादा आन्दोलनरत पक्षबीचमा अझै स्पष्टता आएको उल्लेख गर्दै सबै तहमा जवाफदेहिता हुनुपर्ने बताए । उनले प्रतिष्ठानको सबैभन्दा ठुलो, आधिकारिक निकाय सिनेट भएको उल्लेख गर्दै त्यहाँ प्रतिनिधित्व गर्ने फ्याकल्टी, कर्मचारी कल्याण समाजका प्रतिनिधिहरु बोल्न किन समस्या भइरहेको छ भन्ने प्रश्न गरे । 

‘वीपीको सबै भन्दा ठुलो, आधिकारिक निकाय सिनेट हो, त्यहाँ कर्मचारी, फ्याल्कटीको नाममा हाम्रो प्रतिनिधिहरु जानुहुन्छ । तर बोल्न किन समस्या भइरहेको छ ? अब सिनेटरहरुले आवाज उठाउनुपर्छ,’डा.बस्नेतले भने,‘विद्यार्थीहरु आएर बोलिरहेका छन् । तर सिनेटर प्राध्यापकहरु यहाँ आएर बोल्नुभएको छैन । पछाडि बोलेर मात्र हुदैन, बाहिर निस्केर पनि बोल्नुपर्छ ।’

dr-madhur-basnet

डा.बस्नेतले सिनेट पछिको ठुलो आधिकारिक संस्था कार्यकारिणी समितिमा ५ जना प्रतिष्ठानकै उत्पादन भएर पनि बेथिती बढीरहेकोमा चिन्ता प्रकट गरे । उनले वीपीको वर्तमान अवस्थाप्रति कार्यकारिणी समिति सदस्यहरु पनि जवाफदेही हुनुपर्नेमा जोडदिए । ‘५ जना कार्यकारिणी समिति यही प्रतिष्ठानको उत्पादन हुनुहुन्छ, एक जना मन्त्रालयको प्रतिनिधि र भिसि सर मात्र प्रतिष्ठान बाहिरको हो,’उनले भने,‘तर आज पनि ५ जना कार्यकारिणी समिति यहीको उत्पादन हुँदा पनि किन यस्तो स्थिति छ ? त्यसकारणले उहाँहरु पनि जवाफदेही हुन जरुरी छ ।’

प्रतिष्ठानको खरीद कमिटी, मुल्यांकन कमिटीहरु फ्याकल्टीको नेतृत्वमा गठन भएको उल्लेख गर्दै डा.बस्नेतले त्यहाँको वद्मासीहरुबारे बोल्न आग्रह गरे । यस्तै, वीपीको अर्को वलियो संस्था भनेको हेड अफ डिपार्टमेन्ट (एचओडि) भएको भन्दै उनले विभागीय प्रमुखहरुले पनि पदाधिकारीहरुलाई नत्थी लगाउनको लागि बोल्न आग्रह गरे । ‘अबको आन्दोलन जवाफदेहिताको लागि हो । फ्याकल्टी, नर्स, कर्मचारी, विद्यार्थी सबैले आफ्नो काम, कर्ताव्य र अधिकार सम्झेर प्रतिषठनप्रति उत्तरदायी भयो भने यो समस्या समाधान हुन्छ,’डा. बस्नेतले भने, ‘अहिलेसम्म हामीले नराम्रो हुन नदिन मात्र आन्दोलन गर्न परिरहेको छ । यो पालिको आन्दोलन नराम्रो हुनबाट रोक्न मात्र होइन, राम्रो गराउन पनि अघि बढाउन सकोस् ।’ 

डा. बस्नेतले अहिलेका भिसि आएपछि सबै कुरा बिग्रेजस्तो देखिए पनि बिग्रने क्रम भने धेरै अघिदेखि शुरु भएको बताए । विगतको वद्मासीहरु लुकाइने गरेको भन्दै उनले हिजोआज भने सबै वदमासी बाहिर निस्कन थालेको बताए । ‘बिग्रिने क्रम धेरै अघि देखि शुरु भएको थियो । अहिले राम्रो कुरा चै के भएको छ भने पहिला वदमासी भएको कुरा लुकाइन्थ्यो, अहिले चै सबै बाहिर निस्किएको छ । त्यो हिसाबले कहाँ कहाँ कसरी वद्मासी हुन्छ, भन्ने कुरा विद्यार्थीले पनि थाह पाउन थाले । जो पढ्न मात्र आएका हुन्, उनीहरुले पनि थाह पाउनु राम्रो पक्ष जस्तो लाग्छ,’डा. बस्नेतले भने ।

भिडियो: