धरानः लोकप्रिय लोकगायक गंगा बरदानले १८ बर्ष पछि नयाँ गीत रिलिज गरेका छन् । 

उनले आफ्नो नयाँ गीत धराने हावा तोङ्गबाको पानी लाई युट्युब मार्फत सार्वजनिक गरेका हुन् । विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता/दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो । २०५५ सालमा गंगा बरदान भाग-१ , २०५७ मा भाग-२ र २०६० मा भाग-३ एल्बम बजारमा ल्याएका गायक बरदानले त्यसयता कुनै एल्बम तथा गीतहरु बजारमा ल्याएका छैनन्।  अहिले आएर १८ बर्षपछि उनको नयाँ गीत रिलिज भएको छ।  

२०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा दाई त काले भाई पनि काले गीत गाएर गंगा वरदान प्रथम भएका थिए । यस्तै, २०३१ सालमा धरानमा आयोजित पुर्वान्चल ब्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा 'छपनीले छान छान डबकीले हान..'गीत गएर प्रथम भएका थिए । २०३५ सालमा रेडियो नेपालमा 'कहाँमा काट्यो बेतको लौरी' आफ्नै शब्द , संगीत र स्वरमा रेकर्ड गरेका थिए। हाइकिङ्ग बाबाको रुपमा परिचित सेवक अभियानका अभियानकर्ता राजिव हलवाईको रचना तथा वरदानकै संगीत रहेको यो गीतमा सृजन नेपालको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको छ । यो गीतको भिडियो समेत चाडै बनाइने भएको छ। 

ganga bardan

उमेरले ६९ टेकेका गायक वरदान गीत (संगीतमा लागेको पनि ५० बर्ष बितिसकेको छ । उनी आफ्ना केही पुराना गीतहरु समेत आफ्नो स्वरमा फेरि रेकर्ड गर्ने योजनामा छन्। हाल आफ्नो श्रीमतीको साथ धरानमै बसोबास गर्ने गायक, रचनाकार तथा संगीतकार बरदानका छपनीले छान छान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सुपाडी कुटुक्क, माया गर्ने बानी उल्टै गर्छ हानी, जीउको मासु, अरुणै तर्यो जस्ता थुप्रै लोकप्रिय गीतहरु रहेका छन्।  

धराने हावा तोङ्गबाको पानीको भिडियो लिङ्क :