धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुद्धिकरण गर्ने अभियानको आन्दोलन शनिबार १९ औं दिनमा पुगेको छ । प्रतिष्ठानलाई बेथिती, विकृति र अनियमितताबाट मुक्त गर्ने अभियानअन्तर्गत संघर्ष समितिले चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेको छ भने राजिनामा दिन वा बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ ।

आन्दोलन अन्तर्गत नै संघर्ष समितिले शुक्रबारदेखि सेभ विविकेआइएचएस अर्थात वीपी प्रतिष्ठान बचाउ भनेर हरेक साँझ मैनबत्ति बाल्ने (क्यान्डल लाइट) कार्यक्रम शुरु गरेको छ । प्रतिष्ठानको जिओपिडी भवन अघि संघर्ष समितिले दिप प्रज्वलन कार्यक्रम शुरु गरेको हो । वीपी प्रतिष्ठानलाई बचाउन र यहाँको अन्धकार हटाएर उज्यालो बनाउने सन्देश दिनको लागि मैनबत्ति बाल्ने कार्यक्रम शुरुवात गरेको संघर्ष समितिको भनाई छ ।

candle light1

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपाली वीपीमा अन्धकारभित्र हुने विकृति, विसंगति, अनियमितता अन्त्य गरेर उज्यालो बनाउने सन्देश दिन क्यान्डल लाइट आयोजना गरिएको बताउँछन् । 'यो पनि दबाबमुलक आन्दोलनकै एक कार्यक्रम हो । बीपीलाई बचाउ भनेर सरकारको ध्यानाकर्षण गर्नको लागि हो,' डा.नेपालीले भने, 'हाम्रो माग चाडो सम्बोधन होस् । वीपीको अध्यारो हटाएर यसरी नै उज्यालो बनाउन सकौं, अन्धकारभित्र हुने विकृति, विसंगति र अनियमितता अन्त्य गरौं भन्ने सन्देश दिएको हो ।' 

संघर्ष समितिले आइतबार बिहान वृहत विरोध र्याली आयोजना गर्ने भएको छ । वीपीलाई सुद्धि गर्ने अभियानमा सहभागी भएर एक्यवद्धता जनाउन धरानका बुद्धिजिवि, नागरिक समाज, राजनीतिक दल तथा सर्वसाधारणहरुलाई सहभागी हुन पनि समितिले आह्वान गरेको छ ।