धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुद्धिकरण गर्ने उद्देश्यले विगत २० दिनदेखि जारी आन्दोलनमा समर्थन जनाउन पुर्वविद्यार्थीहरु पनि धरान आएका छन् ।
आन्दोलनमा समर्थन एवं एक्यवद्धता जनाउन देशका विभिन्न स्थानबाट पुर्वविद्यार्थीहरु धरान आएका हुन् । उनीहरुले आइतबार आयोजित वृहत प्रर्दशनमा पनि सहभागिता जनाएका छ्न । संयुक्त संघर्ष समितिले आइतबार बिहान वृहत प्रर्दशन आयोजना गरेको थियो । त्यसक्रममा उपकुलपति कार्यालय परिसरबाट र्याली शुरु भएर भानुचोक पुगेर पुनः प्रतिष्ठानमा नै फर्किएको थियो ।
शिक्षा र स्वास्थ्य हुने चरम राजनीतिकरण अन्त्य हुनुपर्ने प्रमुख माग लिएर प्रर्दशन भएको हो । प्रर्दशनमा प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, नर्स र कर्मचारीहरुसँगै पुर्वविद्यार्थीहरु सहभागी थिए । काठमाण्डौंबाट आएका पुर्वविद्यार्थी डा.भुपेन्द्र शाहले वीपीलाई सुधार गर्न धरानबासीहरुले पनि आवाज उठाउन आग्रह गरे । यहाँको मेशिन तथा उपकरणहरु चुस्तदुरुस्त बनाउन धरानबासीहरुले पनि आन्दोलनमा साथ दिनुपर्ने उनले बताए ।
यस्तै, बुटवलबाट आएका पुर्वविद्यार्थी डा.अनुप पन्थीले भिसिको नियुक्ती हुने दलालहरुको भुमिकालाई तोड्नुपर्नेमा जोडदिए । दलालहरुले नियुक्ती दिलाएका भिसिले दलालहरुकै मात्र सेवा गर्ने उनको भनाई छ । ‘दलालहरुले नियुक्ती गरेका भिसिविरुद्ध आवाज उठाउनुपर्छ, यहाँ नियुक्त हुने भिसि र दलालहरुको नेक्सस तोड्नुपर्छ,’उनले भने ।
यसैगरि, झापाबाट आएका पुर्वविद्यार्थी डा.भुषण भट्टराईले गएको असार १५ मा वार्ताको क्रममा भएको घटनाले आफुहरुलाई पनि बेइज्जत महशुस गराएको बताए । उनले प्रतिष्ठानका पदाधिकारीको गैरजिम्मेवारीपन, स्वेच्छाचारीपनलाई अन्त्य गराउनै पर्ने र सबैले आन्दोलनमा साथ दिनुपर्ने बताए । गएको मंगलबार वार्ताको क्रममा उपकुलपति मदिरा पिएर आएपछि आन्दोलन थप चर्किएको थियो । आन्दोलनकारीले चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेर राजिनामा माग गरेका छन् । उनीहरुले पदाधिकारीहरुसँग वार्ता नगर्ने र प्रधानमन्त्री वा स्वास्थ्यमन्त्रीले गठन गरेको उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान राखेका छन् ।
भिडियो: