धरान: कोभिड विरुद्धको खोप भेरो सेलको मंगलबार धरानमा १५१५ जनाले दोस्रो मात्रा लगाएका छन् । 

बिहान १० बजेदेखि ४ बजेसम्म धरानका तीन वटा खोप केन्द्रमा खोप लगाउनेहरुको संख्या १५१५ पुगेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ती मध्ये ८ सय जना पुरुष र ७१५ जना महिला छन् । उनका अनुसार छाताचोक, पुरानो हस्पिटलस्थित धरान स्वास्थ्य चौकीमा ८५५ जनाले भेरो सेलको दोस्रो मात्रा लगाएका छन् । ती मध्ये ४५७ जना पुरुष र ३९८ जना महिला छन् । 

यस्तै, धरान १८ स्थित कार्मेल स्कुलस्थित खोप केन्द्रमा ३६० जनाले दोस्रो मात्रा खोप लगाएका छन् । ती मध्ये १७९ जना पुरुष र १८१ जना महिलाहरु रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । यसैगरि, धरान १५ स्थित श्याम चोक सेवा समाजको भवनमा ३ सय जनाले खोप लगाएका छन् । ती मध्ये १६४ जना पुरुष र १३६ जना महिला छन् । 

गत जेठ २५, २६ र २७ गते देशव्यापी अभियान अन्तर्गत ६० देखि ६४ बर्ष उमेर समुह र विभिन्न लक्षित समुहलाई चाइनिज खोप भेरो सेलको पहिलो मात्रा लगाइएको थियो । त्यसबेला २१४४ जनाले धरानमा भेरो सेलको पहिलो मात्रा लगाएका थिए । उनीहरुलाई नै पुनः दोस्रो मात्रा खोप लगाउने अभियान देशभर शुरु भएको हो । भोली बुधबार पनि दोस्रो मात्रा लगाइनेछ ।