धरान: धरानका गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत  ‘हाम्रो देश’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मङ्गलबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीत धरानका गायकहरु एपी शेर्पा, सशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेले गाएका छन् । गीतमा सङ्गीत सुजन रसाइलीले भरेका छन् भने गीतको संङ्गीत संयोजन मनोज मोतेले गरेका हुन । 

गीत धरानको म्युजिक मिडिया र काठमाडौंको भोइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतकार रिकेशले जानकारी दिए । रिकेशले निर्देशन गरेको म्युजिक भिडियोमा धरानका स्थानीय कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा गरिमा डान्स सेन्टरको कोरियोग्राफी रहेको छ । भिडियोको छायांकन र सम्पादन एडम लिम्बूले गरेका छन् । 

hamro desh1

आदिवासी जनजातिको पहिचान एवम् समग्र सबै समुदायलाई समेटेर देशप्रति सम्मानस्वरुप गीत निर्माण गरिएको गीतकार विश्वकर्माले बताए । म्युजिक भिडियो धरानं वडा नम्बर –११ कार्यालयको संयोजन तथा मकालु कला केन्द्रको प्रस्तुतिमा निर्माण गरिएको हो । देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो वडा न–११ का अध्यक्ष बाबुलाल लामाले सार्वजनिक गरेका हुन् । गीत निर्माणमा विभिन्न सङ्घसँस्थाले सहयोग रहेको निर्माण पक्षले बताएको छ ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा दलित विकास समितिका संयोजक किशोर परियार, कार्यपालिका सदस्य कल्पना थापामगर, वडाका जनप्रतिनिधिहरु किरण राई, कृष्ण रिजाल, पत्रकार महासंघ प्रदेश १ का सचिव देवेन्द्र कार्की, समाजसेवी प्रकाश राई, सुशील सुवेदी, जितराज राई, कमला राईलगायतको उपस्थिति रहेको थियो ।