धरान: आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती धरानमा पनि मनाइएको छ । 

नेपाली लेखक संघ सुनसरीको आयोजनामा भानुचोकस्थित भानुभक्तको अर्धकदको सालिकमा माल्यार्पण गरि धरानमा भानु जयन्ती मनाइएको हो । संघका अध्यक्ष प्रा.डा.गोपाल भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा धरानका मेयर तिलक राई प्रमुख आतिथि थिए भने लेखक, साहित्यकारहरु सहभागी थिए । मेयर राईले भानुचोक धरानको साहित्यिक इतिहासको साक्षी भएको बताए । साथै, धरानको साहित्यिक इतिहासलाई दस्तावेजीकरण गर्न उपमहानगरपालिकाले बजेट विनियोजन गरेको पनि जानकारी दिए ।

इतिहासमा धरानमा स्थापना भएका साहित्यिक संस्थाहरु, गतिविधिहरु, साहित्यकारहरुका योगदानहरुलाई दस्तावेजीकरण गरिनुपर्नेमा मेयर राईले जोडदिए । यसको लागि सरोकारवाला साहित्यकार, साहित्यिक संघसंस्थाहरुसँग छलफल गरिने उनले बताए । प्रा.डा.महानन्द तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा मोति संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाले पनि संक्षिप्तरुपमा बोलेका थिए ।