धरान: एम्स एकेडेमी धरान १२ का नयाँ स्काउट रोभर रेञ्जरहरु दिक्षित भएका छन् ।

एकेडेमीले बिहिबार होटल पुर्वी स्टारमा दोस्रो दिक्षन्त समारोह आयोजना गरि १२ जना रोभर/रेञ्जर क्रियुहरुलाई दिक्षित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल स्काउट प्रदेश १ तदर्थ समिति संयोजक रवि खनाल, ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेन्द्र कुँवरले रोभर रेञ्जरहरुलाई दिक्षित गरेका थिए । उपप्रमुख भण्डारी धरान उपमहानगरपालिकाकी स्काउट प्रमुख पनि हुन् ।

एम्स एकेडेमी सुनसरीमै प्लस टु पढाई हुने शैक्षिक संस्थाहरुमध्ये स्काउटिङ क्रियाकलाप गर्ने एक मात्र संस्था हो । एकेडेमीका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार १६ जना छात्र(रोभर) र छात्रा(रेञ्जर)हरुलाई दिक्षित गरिएको हो । १६ बर्षदेखि २५ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई रोभर रेञ्जरमा समेटिएका हुन्छन् । ‘रोभर रेञ्जरको पहिलो चरणमा सदस्या ग्रहण हो, अझै थुप्रै चरणहरु बाँकी छ,’स्काउटको प्रदेश तदर्थ समितिका सदस्यसमेत रहेका भण्डारीले भने ।

scout1

एम्सका प्राचार्य मित्र तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले हरेक सरकारी विद्यालयहरुमा स्काउट शिक्षाबारे प्रशिक्षित दिने नीति उपमहानगरले लिएको र सोही अनुसार बजेट पनि छुट्याइएको बताइन् । उनले दिक्षित हुने रोभर रेञ्जरहरुले स्काउट शिक्षाबारे अरुलाई पनि ज्ञान बाँड्न आग्रह गरिन् । 

स्काउटका प्रदेश १ तदर्थ समिति संयोजक रवि खनालले पनि सबै शैक्षिक संस्थाहरुमा स्काउटलाई पुर्याउनुपर्ने धारणा व्यक्त गरे । समाजमा फैलिएको नकरात्मकतालाई चिर्दै सुसँस्कृत समाज निर्माणमा लाग्न पनि उनले दिक्षित भएकाहरुलाई आग्रह गरे । डिएसपी नरेन्द्र कुँवरले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।