धरान: प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा धरान १२ स्थित एम्स एकेडेमीकी छात्रा जानुका अधिकारी प्रथम भएकी छिन् ।

बिहिबार प्रदेश राजधानी विराटनगरमा भएको प्रदेशस्तरीय प्रतियोगितमा उनी प्रथम हुदै नगद २० हजार पनि पुरस्कार जितिन् । 'युवा प्रतिभा पहिचान र प्रोत्साहन कार्यक्रम २०७६'अन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना भएको हो । उनी प्रथम हुदै राष्ट्रिय प्रतियोगिताको लागि छनोट हुन पनि सफल भइन् ।प्रतियोगितामा धनकुटाका प्रतिस्पर्धी मनिषा खनाल दोस्रो र ओखलढुंगाका प्रतिस्पर्धी निसान श्रेष्ठ तेस्रो भएका थिए । उनीहरु दुवव्ै पनि राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका छन् । 

प्रथम भएकी छात्रा जानुका एम्सकी कक्षा ११ मा ब्यवस्थापन समुहकी विद्यार्थी हुन् । उनी एम्सका छात्रा भएपनि प्रतियोगितामा सहभागिता भने तेह्रथुम जिल्लाबाट गरेको एम्सका कोअर्डिनेटर हेमन्त भण्डारीले जानकारी दिए । 'नगरबाट प्रतिस्पर्धा गर्दै जानुपर्ने भएकोले जानुकाले म्याङलुङ नगरबाट प्रथम हुदै जिल्ला प्रथम भएर प्रदेशस्तरीयमा सहभागी भएकी थिइन्,'भण्डारीले भने,'उनी कक्षाको पनि राम्रो, जेहेन्दार विद्यार्थी हुन् ।'