धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने गरि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको उच्चस्तरीय कार्यदलमा प्रतिष्ठानकै एक जना प्राध्यापक सिनेटर पनि सदस्य छन् ।

कार्यदलका सदस्य सचिव एवं प्रवक्तासमेत रहेका सहसचिव शंकर नेपालका अनुसार सिनेटर प्राध्यापक डा.सञ्जिव शर्मालाई सदस्यकोरुपमा राखिएको छ । उनले भने,‘सिनेटर प्राध्यपककोरुपमा डा.सञ्जिव शर्मा कार्यदलको सदस्यमा हुनुहुन्छ । पत्र पनि इमेल गरेर पठाइसकेका छौं, सम्भवत उहाँले पाइसकेको हुनुपर्ने हो ।’

कार्यदलको बैठक आइतबार बस्ने र सोमबार धरान आउने भएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले हिजो बिहिबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका थिए । प्रतिष्ठानका आन्दोलनकारीहरुले पनि कुलपतिस्तरबाटै उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गर्दै आएका छन् ।

कार्यदलमा को को छन् सदस्य ?

कार्यदलको संयोजक डा.अर्याल मन्त्रीपरिषद, संवैधानिक निकाय र आर्थिक तथा पुर्वाधार विकास हेर्ने सहसचिव हुन् । कार्यदलको सदस्य सचिव नेपाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सामाजिक विकास तथा रुपान्तरण महाशाखाका सहसचिव हुन् । 

यस्तै, कार्यदलमा शिक्षा मन्त्रालयका सहसचिव डा.बैकुण्ठ लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी, कानुन मन्त्रालयका सहसचिव शुशिल कोइराला पनि सदस्य छन् । यसैगरि, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल, सार्वजनिक खरीद अनुगमन कार्यालयबाट सहसचिव विष्णु कोइराला र प्रतिष्ठानका प्राध्यापक डाक्टर सञ्जिव शर्मा कार्यदल सदस्य छन् । खरीद अनुगमन कार्यालयका सहसचिव कोइराला धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकोरुपमा कार्य गरिसकेका सहसचिव हुन् ।