धरान: प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारको एक मात्र प्राथमिकता कोभिड विरुद्धको खोप भएको बताएका छन् । 

प्रनिनिनिध सभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारको तीन वटा प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । विकास निर्माण भन्दा पनि जनताको जीवन बचाउने सरकारको प्राथमिकता भएको प्रधानमन्त्री देउवाले बताए । उनले संसदमा सम्बोधन गर्दै भने, 'यो सरकारको तीन वटा मात्र प्राथमिकता छ, त्यो हो खोप खोप खोप । मात्र खोप ।'

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त देउवाले आज विश्वासको मत लिदैछन् । उनलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपालले विश्वासको मत दिने भएको छ । एमालेले विश्वासको मत नदिने निर्णय गरेपनि माधव नेपाल समुहले विश्वासको भन दिने जनाएको थियो । तर, जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि एमालेको नेपाल पक्ष विना नै देउवाले विश्वासको मत पाउने निश्चित भएपनि नेपाल पक्षका कतिपय नेताहरु संसद भवनबाट बाहिरिएका छन् ।