धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डिएम अध्ययनरत एक डाक्टरलाई अभद्र व्यवहार गरेको आरोप लागेका आर्थिक प्रशासन महाशाखा प्रमुख कमल रायमाझीको सरुवा भएको छ ।

आन्दोलनरत जुनियर रेजिडेन्टहरुसँग कारबाही गर्ने प्रतिवद्धता जनाए अनुसार आरोपित लेखा प्रमुख रायमाझीलाई प्रतिष्ठानले कारबाही स्वरुप सरुवा गरेको हो । आकर्षक मानिएको आर्थिक प्रशासन प्रमुखबाट रायमाझीलाई सामान्य प्रशासनमा सरुवा गरिएको छ । रायमाझीलाई सरुवा गर्ने बारे उपकुलपति डा.ज्ञानेन्द्र गिरीको हस्ताक्षर भएको पत्र प्राप्त भएपछि कर्मचारी प्रशासनले सरुवा गरेको जनाएको छ । 

आवासको बिषयमा रायमाझीले डा.विप्लव कार्कीलाई गालीगलौज तथा अभद्र व्यावहार गरेको भन्दै जुनियर रेसिडेन्टहरु काम छोडेर आन्दोलित भएका थिए भने डा.कार्कीको जाहेरीपछि रायमाझीविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भएको थियो । पछि चारै जना पदाधिकारीहरुसँग वार्ता हुँदा २४ घण्टे स्पष्टीकरण सोध्ने, भविष्यमा घटना नदोहोर्याउने, जिम्मेवारीबाट हटाउने र मुद्दालाई मेलमिलापबाट मिलाउने सहमति भएको थियो । उपकुलपति डा.गिरीले रायमाझी र डा.कार्कीबीचको घटनाले प्रतिष्ठानमा जेआरहरु विरोधमा उत्रिएर स्थिति तनावपुर्ण बनेकोले दुवैपक्षलाई मुठभेठमा जान नदिन सहमति अनुसार भएको बताए । उनले भने,‘स्थिति झन् तनावपुर्ण बन्न नदिन दुवै पक्षलाई मिलाइएको हो ।’

जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले एक विज्ञप्ती जारी गर्दै सहमति वमोजिम आफुहरुको माग पुरा भएकोमा प्रतिष्ठान प्रशासनसहित सबैलाई धन्यवाद दिएको छ । यसले गल्ती गर्ने जो कोहीलाई कारबाही हुन्छ र शक्तिको बलमा कसैलाई बलमिच्याई गर्न हुदैन भन्ने नजिर स्थापित भएको जनाएको छ। साथै, आफुहरुको आन्दोलन कुनै व्यक्ति र संगठनकोविरुद्ध नभएर गलत र अपराधिक कार्यको विरुद्धमा भएको पनि सोसाइटीले विज्ञप्तीमार्फत प्रष्ट पारेको छ । 

jr 1